लाइफ नो रिटायर्ड, हाम्रो मनोविज्ञान हो रिटायर्ड । जीवनमा अनुभवले त झन पो धेरै बाँच्न सकिन्छ । ६० वर्षको मानिसले के जानेको हुँदैन, कुनै रोग छैन भने कसरी बुढो ?
‘मान्छे जन्मँदै दुःखको मनोग्रन्थी लिएर जन्मियो । हुर्काउँदा नै संसारमा दुःख छ भन्ने मनोविज्ञानबाट हुर्काइयो । अनि पो मान्छे दुःखी भयो’, डा विजयरत्न बज्राचार्यले जीवनमा बुझेको दर्शनबारे बोले, ‘जुन दिन जीवन अनेकन अनुभवको संगालो हो भन्ने बुझिन्छ र बुझाइन्छ वा भेउ पाइन्छ, त्यो दिन जिन्दगी निकै प्रिय लाग्न थाल्छ ।’
ललितपुरको पाटनमा रत्न व्यवसायी परिवारमा जन्मिएका बज्राचार्य चर्चित रत्न व्यवसायी मात्रै होइनन्, त्यही पेशा गर्दागर्दै रत्न विशेषज्ञकै रुपमा कहलिएको नाम हो ।
जीवनका ५२ वशन्त रत्नको व्यवसाय र अनुसन्धानमा बिताएका बज्राचार्यले नवरत्न माणिक्य, मोती, मुगा, पन्ना, पुष्पराज, हिरा, नीलम, गोमेद र वैदूर्यमणि (लहसुनिया) मात्र होइन रकक्रिस्टल, गोल्डेन स्टोनदेखि पारस स्टोनजस्ता ८४ औँ उपरत्नका कणकण केलाए । यसको अन्तर्य छामे । उपादेयता र अस्तित्वबारे अध्ययन गरे । त्यसमाथि किताबै लेखे ।
रत्नको अध्ययन अनुसन्धानका लागि उनी देशदेशाबर घुमे । बर्मा पुगे । चीन, श्रीलंका, कम्बोडिया, भारतलगायनका पहाड र समुद्रसम्म चहारे । नेपालमै भएको रत्नबारे धेरै नेपालीलाई थाहा नभए पनि उनले विश्वका रत्नबारे बुझे, बुझाए ।
उनको पुख्यौली व्यवसायको विरासत यतिबेला रत्न विशेषज्ञ छोराले अघि बढाएका छन् । डा बज्राचार्य भने रत्न व्यवसायभन्दा अध्यात्मको नजिक छन् । २० वर्षयता उनी शान्ति वन अभियान र तीन मिनेट ध्यानमा होमिएका छन् ।
जीवनको पाँच दशकभन्दा लामो समय रत्नमा रमाएको मान्छे एकाएक किन अत्यात्ममा ?
‘हरेक क्षेत्रमा गहिरो लगावले एउटा परिणाम दिन्छ’, उनले भने । रत्नप्रतिको गहिरो लगाव र मिहीन अनुसन्धानको परिणाम अध्यात्म भएको उनले सुनाए ।
‘पत्थर वा जुनसुकै रत्नमा आध्यात्मिक शक्ति निहीत भएको मैले पाएँ । रत्नको सम्बन्ध अध्यात्मसँग छ भन्ने कुरा ऋषिमुनीहरुले पनि यसको धारण गरेको पाइनुबाट प्रष्ट हुन्छ । रत्नमा अर्कै खालको भाइब्रेसन हुन्छ’, उनले भने, ‘कैलाश पर्वतको रंग निलो छ । त्यो निलमको पहाड हो । जहाँ शिवले ध्यान गरेको विश्वास छ । शिवलाई कसले देख्यो र ? शिव भनेकै भाइब्रेसन हो । रत्नमा पनि भाइबे्रेसन हुन्छ । त्यसैले रत्न भनेकै भाइब्रेट भएको भगवान हो ।’
रत्न किन धारण गर्ने ? देखाउनका लागि वा कुनै सकारात्मक उर्जाका लागि ? के साँच्चै रत्नमा कुनै अलौकिक तत्व छ ? यो प्रश्नको उत्तर रत्न विशेषज्ञ डा बज्राचार्यले धेरै गहिरो गरि खोजे । उनले रत्नमा एकखालको भाइबे्रसन अनुभूत गरे ।
सूर्यका सात रंगले मानिसको शरीरमा पार्ने सकारात्मक प्रभावको गुण नवरत्नहरुमा हुने उनले बुझे । जुन कुरा मानिसको बज्र औंला (चोर औंला)मा निहीत रहेको उनले अनुभव गरे र त्यहीँबाट तीन मिनेटको ध्यान सुरुवात गरे र गराए ।
सूर्यका सात रंगले मानिसको शरीरमा पार्ने सकारात्मक प्रभावको गुण नवरत्नहरुमा हुने उनले बुझे । जुन कुरा मानिसको बज्र औंला (चोर औंला)मा निहीत रहेको उनले अनुभव गरे र त्यहीँबाट तीन मिनेटको ध्यान सुरुवात गरे र गराए ।
‘मैले सिकाउने ध्यान शून्यतामा हराउनका लागि होइन, मस्तिस्कलाई उर्जा दिनका लागि हो’, उनले भने, ‘बज्र औँला (चोर) आफैमा हिरा हो । यसलाई बुढी औंलासँग स्पर्स गर्दा मस्तिष्कलाई उर्जा मिल्छ । जसरी कुनै शक्तिलाई एकआपसमा स्पर्स गराउँदा बत्ति बल्छ ।’
उनले सुरु गरेको तीन मिनेट ध्यान जहाँ, जतिबेला पनि गर्न सकिन्छ । तर एउटै सर्त छ, स्पाइनल अर्थात ढाड भने सिधा हुनैपर्छ । उनले भने, ‘जसरी रुख सिधा हुँदा उर्जा पाउने बित्तिकै हाँगा, पात र फूल फैलन्छ, त्यस्तै हो मानिसको ढाड र मस्तिस्कको सम्बन्ध पनि ।’
२०५९ सालमा सुरु गरेको उनको ध्यान अभियान अहिले शान्ति वन ध्यान केन्द्रका नाममा फैलँदै गएको छ । केन्द्रहरुमा बढेमानका बुद्ध प्रतिमा स्थापनासहित काभ्रेको धुलिखेल, ललितपुरको गोदावरी र लुम्बिीनीमा शान्ति वन ध्यान केन्द्र संस्थागत भइसकेका छन् ।
यीं केन्द्रहरुमा विहान ६ बजेबाट ध्यान र प्रवचन सुरु हुन्छ । अहिलेको समयका मानिसहरुलाई व्यस्तताले लखेटेको छ । हरेक कुरा छरितो बनेको छ । खानपानदेखि व्यवहार पनि हतारमा हुने गरेको छ । त्यसैले पनि यो ध्यान विधि छोटो र प्रभावकारी भएको डा बज्राचार्य बताउँछन् ।
ध्यानप्रति आकर्षण भएर पनि लामो हुने र त्यसका लागि समय निकाल्न नसकिने विवशतामा भएकाहरुका लागि पनि यो विधि निकै प्रभावकारी र उपयुक्त हुने उनको भनाइ । यसले मानिसको मनमा सुद्धता, मस्तिष्कमा उर्जा र विचारमा नविनपन ल्याउने ठोकुवा बज्राचार्यको छ ।
तीन मिनेट ध्यान विधि प्रचलनमा रहेका लामोलामो एकान्तमा गरिने ध्यान विधिभन्दा नितान्त फरक छ ।
‘अहिलेको मानिस कामकाजी छ, व्यस्त र भीडभाडमा बाँच्नुपर्ने अवस्था छ’, डा बज्राचार्यले भने, ‘यो कामकाजी मान्छेका लागि पनि दुई तरिकाले उपयोगी छ, छरितो छ, जहाँजस्तो अवस्थामा पनि गर्न सम्भव छ र व्यस्त जीवनमा मन, मस्तिष्क र विचारलाई ताजगी दिन यो निकै प्रभावकारी छ ।’
बज्राचार्य हरेक मानिस १२० वर्ष बाँच्न सम्भव भएको दाबी गर्छन ।
त्यो कसरी त ?
‘यो शान्तिका दूत भगवान गौतम बुद्ध जन्मेको तपोभूमी हो । यही माटोमा बुद्ध ८२ वर्ष बाँचे । त्यो २६ सय वर्ष अघिको कुरा थियो । जबकी त्यसबेला आमामासिको आसत आयु ३५, ४० वर्ष थियो होला’, उनले तर्क गरे, ‘ऋषिमुनीहरु त झन सैयौँ वर्ष बाँचेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । त्यो किन त ? त्यो सबैको कारण ध्यान, योग र सकारात्मक उर्जा नै थियो ।’
त्यो समय हेरी यो समयमा सबै सुविधा उपलब्ध छन् । सामान्य टाउको दुखेको औषधिदेखि असाध्य रोगको पनि उपचार सम्भव भएकोतर्फ उनी संकेत गर्छन ।
हुन पनि हो आजभन्दा ५० वर्ष अघि अर्थात २०३० सालतिर नेपालीको औसत आयु ४० वर्ष हाराहारी थियो । अहिले नेपालीको औसत आयु बढेर ६९.६ वर्ष पुगेको छ भने सरकारले सार्वजनिक गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपालीको नेपालीको आयु ७२ वर्ष पुग्ने प्रक्षेपण गरेको छ ।
‘अहिलेको युगमा मानिसले आफ्नो शरीरमा के समस्या छ भन्ने क्षणभरमै पत्ता लगाउने अवसर छ, प्रविधि छन्, केही भयो भने औषधिमूलो छ’, उनले भने, ‘सकारात्म सोच राख्ने हो र मन र विचार सुद्ध हुने हो भने १२० वर्ष किन बाँच्न सकिँदैन ?’
आत्मबल, आत्मविश्वास र अध्यात्मको वैज्ञानिक प्रमाण नहुने भए पनि आध्यात्मिकताको लामो साङलो निर्माण गर्ने हो र गुणवान मानिस जोडिँदै जाने हो भने यो सम्भव भएको उनी बताउँछन् ।
फलामको नै भए पनि सिक्रीको एउटा मात्रै टुक्रा बलियो मात्र हुन्छ । त्यसलाई कामयाब बनाउन त्यस्तै टुक्राहरुको चेन बनाउन आवश्यक छ।
‘फलामको नै भए पनि सिक्रीको एउटा मात्रै टुक्रा बलियो मात्र हुन्छ’, डा बज्राचार्यले भने, ‘त्यसलाई कामयाब बनाउन त्यस्तै टुक्राहरुको चेन बनाउन आवश्यक छ ।’
रत्नको आभूषणको आकर्षणभन्दा यो निकै लोभलाग्दो भएको उनको बुझाइ छ । त्यसैले उनी यतिबेला शान्ति वन ध्यान केन्द्रलाई देशभर र बाहिरसम्म फैलाउने अभियानमा जुटेका छन् ।
नेपाल जापान चेम्बर अफ कमर्सको फाउन्डर प्रेसिडेन्ट, रोटरी क्लबको अध्यक्षसम्म हुँदाको सम्बन्ध, लुम्बिनी डेभलपमेन्ट ट्रष्टको बोर्ड मेम्बर हुँदा वल्र्ड बुद्धिष्ट समिट गर्दाको संगले यो अभियान सफल हुनेमा ढुक्क छन् । उनलाई कम्बोडिया, थाइल्याण्ड, जापानलगायतबाट शान्ति वन स्थापनका लागि आग्रह गरिएको सुनाउँछन् ।
‘लाइफ नो रिटायर्ड’, उनी भन्छन्, ‘हाम्रो मनोविज्ञान हो रिटायर्ड । जीवनमा अनुभवले त झन पो धेरै बाँच्न सकिन्छ । ६० वर्षको मानिसले के जानेको हुँदैन, कुनै रोग छैन भने कसरी बुढो ? सारा अनुभव प्राप्त जीवन त झन पो सक्रिय हुनुपर्छ त । भर्खरको युवाभन्दा सबै बुझेको, सबै जानेको हुन्छ । झन आनन्दले जीवन बाँच्न सकिन्छ ।’
हेर्दा चिटिक्क, युवावयकै लाग्ने वज्राचार्यमा समयले रंग्याइ दिएका कपालबाहेक कतै बुढ्यौलीपन झल्कँदैन । बोलीमा जे बोल्छन्, व्यवहारमा पनि उस्तै लाग्ने उनका आँखामा शान्ति वनलाई फैलाउँदै विश्वलाई उर्जावान बनाउने सपना तैरिएझैँ लाग्छ ।-(गोरखापत्र शनिबारबाट)