Logo
२९ पुस २०८१, सोमबार

नेपालको लगातार दोस्रो जित, कुवेत २४३ रनले पराजित

अक्षरपाटी
२०७९ फागुन १३ , शनिबार ०६:०२ मा प्रकाशित

काठमाडौं १३ फागुन। १९ वर्ष मुनिको आईसीसी विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई २४३ रनले पराजित गरेको छ।

नेपालको यो लगातार दोस्रो जित हो। यसअघि सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। आज मलेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० ओभर ५ बलमा मात्र १ सय रनमा समेटियो।

उसका लागि क्रिस्टोफर सल्धानाले सर्वाधिक २६ रन जोडे । कुवेतलाई सस्तैमा समेट्न आकाश चन्दले सर्वाधिक ६ विकेट लिए। हेमन्त धामी र दिपेश कँडेलले दुई दुई विकेट लिए ।

यसअघि नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि अर्जुन कुमाल र देव खनालले करियरकै पहिलो शतक बनाए। अर्जुनले १ सय १२ बलमा १२ चौका प्रहार गर्दै १ सय ८ रन जोडे भने देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनमा पेभिलियन फर्किए ।

तेस्रो विकेटका लागि अर्जुन र देवले १ सय ७० रनको साझेदारी गरेका थिए। कुवेतका हेन्री थोमस र अर्स शाहील काज्मीले दुई दुई विकेट लिए। नेपालले तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ।