Logo
२६ पुस २०८१, शुक्रबार

शीतलनिवासमा आज पौडेलको स्वागत, भण्डारीको विदाइ

अक्षरपाटी
२०७९ फागुन २९ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं २९ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज राष्ट्रपति भवन शीतलनिवास प्रवेश गर्दैछन्।

आज दिउँसो १ बजे हुने शपथग्रहणपछि राष्ट्रपति पौडेल निजी निवास बोहराटारबाट शीतलनिवासमै रहने छन्।

राष्ट्रपति कार्यालयले उनको शपथ समारोहको तयारी गरेको छ। उनी फागुन २५ गते देशको राष्ट्रपतिमा निर्वाचित भएपछि आज शीतलनिवास प्रवेश गर्न लागेका हुन्।

शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाली सेनाको टोलीले पौडेलको स्वागतमा २१ तोपको सलामी दिनेछ।

त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन्।

पौडेलको सपथग्रहणपछि आजै कार्यकाल सम्पन्न भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिने छ। उनले राष्ट्रपति पदको आसन पौडेललाई सुम्पिएर बिदाइ हुनेछिन्।उनको बिदाइमा पनि २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयले जनाएको छ।