काठमाडौं, ९ चैत । दुवईमा बेचिएकी एक नेपाली चेलीको उद्धार गरिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी २० वर्षीया कल्पना (परिवर्तित नाम) लाई माईती इन्डीया, लब नेपाल, लब एण्ड होपको पहलमा उद्धार गरिएको हो।
मानव तस्करको गिरोहले उनलाई दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेको माइती इन्डियाकी निर्देशक पुजा पाण्डेले जानकारी दिएकी छन्।
मानव तस्करीमा ३२ वर्षीय दीपक मगर, ३० वर्षका मौसम, ३५ वर्षीय पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले दाबी गरेको माईती इन्डियाकी निर्देशक पाण्डेको भनाइ छ।
कक्षा १२ मा अध्ययनरत कल्पना कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुवै पुर्याएर बिक्री गरेको खुल्न आएको हो संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुवै पुर्याएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव व्यक्ति उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ।
दुवैमा बेचिएकी कल्पनालाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएका कारण उनले आफू बेचिएको थाहा पाएकी थिइन्।
उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले सुनाएको विज्ञप्तिमा उल्लेख छ।
घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले लभ नेपालका अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्धारका लागि अनुरो गरेका थिए।
सोही अनुसार बालकृष्ण र पुजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्यूरोको समन्वयमा उनको उद्दार गरिएको हो।
‘हामी आफैं दुवै पुगेर उनको उद्दार गरेका हौं। यसमा दुवैस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो। पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’– समाजसेवी बालकृष्ण पाण्डले भने।
उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्युरोले अनुसन्धान थालिसकेकोसमेत पाण्डले जानकारी गराए।
पीडितले पनि जाहेरी दिने तयारी रहेको उनले बताए। स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षाका लागि कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए।
उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं दुवै पुगेर उद्धारमा लागिपरेको समाजसेवी लभ नेपालमा अयक्ष पाण्डेले बताए।
तस्विरमा : उद्धारकर्ताहरु समाजसेवी बालकृष्ण पाण्डे, स्वीडेन नागरिक जोनाथन, माइती इन्डियाकी निर्देशक पुजा पाण्डे।