Logo
७ असोज २०८३, बुधबार

‘जलवायु न्याय’का लागि अधिकारमुखी अन्तर्राष्ट्रिय पहल गर्नुपर्ने नैनसिंह महरको आग्रह

अक्षरपाटी
२०८३ असोज ७ , बुधबार ०५:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित संकटलाई स्पष्ट रूपमा उठाउँदै ‘जलवायु न्याय’का लागि अधिकारमुखी र प्रभावकारी अन्तर्राष्ट्रिय पहल गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको ध्यानाकर्षणपत्रमा महरले पछिल्ला वर्षहरूमा भोटेकोशी, मेलम्चीलगायतका क्षेत्रमा देखिएका विनाशकारी बाढी–पहिरो नेपालमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तन र विश्वव्यापी प्रणालीगत असफलताको प्रत्यक्ष परिणामसमेत भएको उल्लेख गरेका छन्।

महरले जलवायु संकटबाट नेपालजस्ता संवेदनशील मुलुक प्रभावित भइरहे पनि संकट सिर्जनामा उनीहरूको योगदान न्यून रहेको भन्दै नेपाल दयाको पात्र नभई जलवायु संकटबाट प्रभावित भएर आफ्नो जायज अधिकार खोज्ने राष्ट्र भएको स्पष्ट पार्नुपर्ने बताएका छन्।

उनले महासभामा नेपालले पाँचवटा प्रमुख विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने प्रस्ताव गरेका छन्।

पहिलो, विपद्पछिको राहतमा मात्र सीमित नभई आधुनिक पूर्वसूचना प्रणाली (Early Warning System) स्थापना गर्न अन्तर्राष्ट्रिय लगानी सुनिश्चित गर्नुपर्ने उनको माग छ।

दोस्रो, हिमाली क्षेत्रमा बाढी, पहिरो तथा चरम मौसमी घटनाको जोखिमलाई ध्यान दिँदै जलवायु–उत्थानशील पूर्वाधार निर्माणका लागि प्राविधिक तथा वित्तीय सहयोगलाई अधिकारका रूपमा स्थापित गर्नुपर्ने उनले बताएका छन्।

तेस्रो, नेपालजस्ता अति कम विकसित तथा जलवायु जोखिममा रहेका मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त र अत्याधुनिक प्रविधिको सहज हस्तान्तरण सुनिश्चित हुनुपर्ने उनको जोड छ।

त्यस्तै, हिमाल पग्लिँदै गएको विषयमा अन्तर्राष्ट्रिय कानुनी जवाफदेहिताको प्रश्न उठाउँदै महरले उच्च कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई वित्तीय तथा कानुनी रूपमा जवाफदेही बनाउने विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताएका छन्।

उनले ‘Loss and Damage Fund’ लाई दान वा वैदेशिक सहयोगको रूपमा नभई ऐतिहासिक प्रदूषकहरूको कानुनी तथा नैतिक दायित्वका रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा पनि अघि सारेका छन्।

महरले प्रधानमन्त्रीको नेतृत्वमा नेपालले यसपटक संयुक्त राष्ट्रसंघमा याचकका रूपमा होइन, जलवायु संकटको अग्रपंक्तिमा उभिएको अधिकारमुखी राष्ट्रका रूपमा आफ्नो आवाज प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

उनको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जलवायु न्याय दान होइन, साझा तर फरक जिम्मेवारीको न्यायोचित कार्यान्वयन हो।’

महरले जलवायु परिवर्तनलाई केवल वातावरणीय विषयका रूपमा नभई नेपालको राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, हिमाली सभ्यता र भावी पुस्ताको अस्तित्वसँग जोडिएको राजनीतिक मुद्दाका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

जलवायु परिवर्तन नैनसिंह महर

ट्रेन्डिङ ( साप्ताहिक )