Logo
६ पुस २०८१, शनिबार

थोरै लगानीमा नयाँ काम गर्न चाहनेका लागि फाइभ पी प्रदर्शनी फलदायी : महामन्त्री थापा

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौं १० चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि फाइभ पी प्रदर्शनी फलदायी हुने बताए।

आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहनेका लागि प्रदर्शनीले नयाँ बाटो देखाउनसक्ने विश्वास व्यक्त गरे।

नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका लागि यो राम्रो अवसर हुनसक्ने उनको भनाइ छ।

‘खास गरेर यो क्षेत्रको (५ पी रिलेटेड) काम गर्नेहरूलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने ज्ञान यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लाग्छ,’ थापाले भने।

चैत १२ गतेसम्म चल्ने प्रदर्शनी स्थलमा भेटिएका अवलोकनकर्ताले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी हुने प्रतिक्रिया दिए।

प्रदर्शनी स्थलमा भेटिएका मोरङका राजेन्द्र न्यौपानेले आफू जस्तो नयाँ व्यापार सुरु गर्ने योजनामा रहेका युवालाई यो प्रदर्शनीले उत्साह र ज्ञान दुवै दिने प्रतिक्रिया दिए।

त्यस्तै प्रदर्शनीमै भेटिएकी काठमाडौंकी सानले नयाँ प्रविधिबारे जान्न र बुझ्न चाहनेका लागि प्रदर्शनी फाइदाजनक रहेको बताइन्।

उनले भनिन् ‘ विशेष गरी नयाँ प्रविधिबारे जान्न चाहने युवाका लागि यो इभेन्ट निकै फलदायी छ, धेरै नयाँ प्रविधि हेर्ने र जान्ने मौका मिलेको छ।’

कैलालीको टीकापुरबाट आएर प्लास्टिकको डोरी लगायतका सामग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताए।

यस्ता प्रदर्शनीले व्यापारीलाई ब्रान्डको मार्केटिङ गर्न सहयोग पुग्ने उनले बताए

‘नेपालमा नाइलनको डोरी उत्पादन हुन्छ, त्यो पनि राम्रो क्वालिटीको भनेर धेरैलाई थाहा नै छैन। यस्ता प्रदर्शनीले हामीलाई मार्केटिङ गर्नका लागि सहयोग मात्र पुग्दैन, ग्राहकलाई प्रत्यक्ष भेटेर बुझाउन पनि सकिन्छ,’ उनले भने।

त्यस्तै भारतको नयाँ दिल्ली बाट आएर प्रिन्टिङ मसिनको स्टल राखेका यश ब्लोअर्स प्रालिका आलोक त्रिवेदीले पनि प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न निकै सहयोग पुग्ने बताए। उनले एक्स्पो अवलोकनका लागि आएकाहरूले निकै रुचि देखाएको प्रतिक्रिया दिए।

देश तथा विदेशमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ व्यवसायसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी तथा नवीनतम प्रविधि प्रदर्शनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकको दाबी छ।

प्रदर्शनीले उद्योगी तथा व्यवासायीबीच मात्रै नभई देश विदेशका नविनतम प्रविधिबारे जान्न चाहने र नयाँ उद्योग स्थापना गर्न चाहानेलाई पनि ठूलो फाइदा पुग्ने आयोजकको विश्वास छ।

प्रर्दशनीमा १५ भन्दा बढी नेपाली स्टलहरु राखिएका छन्। जसमा प्लास्टिक जन्य उत्पादनमा आधारित सामग्री धेरै छन्। प्रर्दशनीमा, नेपालमै उत्पादन भएका नाइलनका डोरी, डिस्पोजेवल कप, गिलास, प्लेट, प्लास्टिकका बोत्तल, फुड प्याकेजिङका लागि आवश्यक पर्ने कभर, औषधिका लागि चाहिने कभर, जस्तापाता लगायतका विविध सामग्रीहरुको अवलोकन तथा आवश्यक जानकारी लिन पाइने छ।

विशेषगरि प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका व्यवसायीले सहभागिता जनाएको प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी स्टलहरु राखिएका छन्।

आजबाट सुरु भएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय फाइभ पी प्रदर्शनी १२ गतेसम्म चल्नेछ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी भइरहेको हो।

गगन थापा फाइभ पी