
धनगढी। धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सुरु गरेको छ।
मृतकका परिवारको आग्रहमा उपमहानगरपालिकाले धनगढी १८ निवासी स्वर्गीय श्यामकाजी थापाको शव राख्नका लागि निःशुल्क शव चिस्यान सेवा उपलब्ध गराएको मेयर गोपाल हमालले जनाएका छन्।
थापाको शव चिस्यानमा राख्नका लागि खबर आएपछि नगर प्रहरीले घरमै शव चिस्यान सेवा प्रदान गरेको मेयर हमालले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
परिवारका सदस्य बाहिर रहेको, आउन समय लाग्ने र दाहसँस्कारका लागि केही समय पर्खनुपर्ने अवस्थामा शव चिस्यान सेवा आवश्यक परेमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरीको सम्पर्क नम्बर १८१०५००००९० मा सम्पर्क गर्न सकिने जानकारी समेत मेयर हमालले दिएका छन्।
यो सेवा घरमै पुगेर नगर प्रहरीले उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले जनाएका छन्। पार्थिव शरीरको दाहसंस्कारपछि निःशुल्क शव चिस्यान नगर प्रहरीले नै उपमहानगरपालिकामा ल्याउने व्यवस्था गरिएको पनि मेयर हमालले जानकारी गराएका छन्।
धनगढी उपमहानगरपालिका


