Logo
२६ पुस २०८१, शुक्रबार

मिटर ब्याजको जड सरकार हो : सिंह

अक्षरपाटी
२०७९ चैत्र १५ , बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याजको जड साहु नभएर सरकार भएको जिकिर गरे।

उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको समेत आरोप लगाए। उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए।

सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेकोसमेत टिप्पणी गरे।

भने – ‘मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो। राज्यले नै ३ थरिको ब्याज तय गरेको छ। मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज। मिलिमिटर ब्याज उद्योगपतिहरुलाई दिइन्छ। मिटरब्याजको जड साहु होइन सरकार हो। सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिबलाई झन गरिब बनाएर शासन गर्न खोजेको हो। गरिबी र अशिक्षितमाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो। सरकार कहिले पनि शिक्षाको विकास गर्दैन। गरिवको चिन्ता गर्दैन।’

प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने– ‘हाम्रो बीचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानहरुले संविधानत्ः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ। ति विषयहरुलाई मात्र समेटेर भएपनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरिकन नागरिकता सम्बन्धी कानुन यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु।’

प्रतिनिधि सभा सदस्य असिम शाहले एक महिनादेखि मन्त्रालयहरु मन्त्रिविहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालीरहेको उल्लेख गरे। त्यस्तै उनले १ मिनेट शून्य समय अपुग भएको भन्दै २ मिनेट पु¥याउन माग गरे।

प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिइदै आएको खाजा भत्ता वृद्धि गर्न माग गरिन्।