Logo
६ पुस २०८१, शनिबार

सातौँपटक मन्त्रिमण्डल विस्तार, जनमत सरकार बाहिर, मन्त्रिपरिषद अझै अपूर्ण

अक्षरपाटी
२०७९ चैत्र १७ , शुक्रबार ०३:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार आज सातौँपटक विस्तार भएको छ। तर दाहालले सातौँपटक विस्तार गरे पनि मन्त्रिमण्डलले पूर्णता भने पाउन सकेको छैन ।

एकातिर मन्त्रिपरिषद विस्तार भइरहँदा अर्कोतिर सरकारमा सहभागी जनमत पार्टीले भने सरकार छाडेको छ। आफूले मागेको उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीले असन्तुष्टि जनाउँदै सरकार छोडेको हो।

नवनियुक्त मन्त्रीको सपथको तयारी हुँदै गर्दा खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन।

प्रधानमन्त्रीसमक्ष राजीनामा दिँदै खानेपानी मन्त्री अब्दुल खान

नेपाली कांग्रेसले आफूले पाएकामध्ये ४ जनाको नाम दिन नसकेको र जनता समाजवादी पार्टीले पनि एक मन्त्री दिन नसकेपछि मन्त्रिमण्डल पूर्णता पाउनबाट रोकिएको हो ।

बिहानसम्म नेपाली कांग्रेसबाट मन्त्रीका लागि ८ जनाको नाम चर्चामा रहे पनि शेखर कोइराला समूहले ३ जना मन्त्री नदिएसम्म सरकारमा सहभागी नहुने अडान लिएपछि कांग्रेसले ४ जनाको नाम काटेर ४ जना मात्रै मन्त्रीका लागि पठाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनाएका छन्। त्यस्तै प्रशाशसरण महत अर्थमन्त्री बनेका छन्। रमेश रिजाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा दिइएको छ भने सीता गुरुङ बनिन् सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन्। हिजोदेखि मन्त्री बन्ने चर्चामा रहेका धनराज गुरुङ, एनपी साउँद, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूको नाम भने हटाइएको छ।

त्यस्तै जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।

त्यस्तै माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन्।

नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ।

मन्त्रिपरिषद