Logo
२४ वैशाख २०८१, सोमबार

क्यान्सर जित्नेहरुको र्‍याम्प शो, भने : आत्मबल ठूलो औषधि हो

अक्षरपाटी
२०७९ चैत्र २३ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। एक समय थियो मानिसहरु ‘क्यान्स’ शब्ददेखि नै डराउँथे। जसलाई क्यान्सर भयो, ऊ रोगभन्दा पहिला शोकले नै मरेतुल्य हुन्थ्यो।

क्यान्सर सर्भाइवर तथा लेखक कर्ण शाक्यले पनि आफ्नो उस्तै अनुभव सुनाए। आजभन्दा ३३ वर्षअघिको त्यो समय सम्झिए। जतिबेला उनको जहान र छोरीलाई क्यान्सर भएको थियो।

‘अहिलेजस्तो कहाँ थियो र त्यो समय। त्यसबेला त क्यान्सर शब्ददेखि नै मानिस थरथर काँप्थे। नेपालमा उपचार पनि सम्भव थिएन। विदेशमा मात्रै उपचार हुन्थ्यो’, उनले भने,’आर्थिक खर्च पनि उति नै हुन्थ्यो, सामाजिक र मानसिक तनाव पनि बयान गरिनसक्नुको थियो।’

क्यान्सरबाट आफ्नै परिवारका दुई सदस्य गुमाएको पीडा भोगेका र आफै पनि क्यान्सर जितेका उनले भने, ‘अहिले क्यान्सर सर्भाइवर यसरी क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिँदै र्‍याम्प शोमा उत्रनु प्रसंसनीय कदम हो।’

उनले क्यान्सरको सबैभन्दा ठूलो उपचार भनेकै आत्मबल भएको र यसलाई स्वीकार्न सक्ने हिम्मत चाहिने सुझाव दिए।

कार्यक्रममा मुख्य अतिथिको रुपमा प्रस्तुत वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अब क्यान्सर उपचारका लागि बाहिर जानुपर्ने अवस्था नरहेको सुनाउँदै व्यङ्गय गरे, ‘करको पैसा खर्च गरेर उपचार गर्ने नेताहरुले हो विदेशमा उपचार गर्ने त।’

उनले क्यान्सरलाई दुई किसिमले व्याख्या गर्दै भने क्यान्सरले ज्यान पनि जान्छ तर यसको बेलैमा उपचार गरे यसलाई जित्न पनि सकिन्छ।

परिवारका सदस्यलाई क्यान्सर हुँदा ठूलै युद्ध लडेको स्मरण गर्दै उनले आफ्नी धर्मपत्नीलाई चौथो स्टेजको क्यान्सर हुँदा पनि ६ वर्ष बचाउन सकेको सुनाए। एक्लैले क्यान्सरविरुद्ध लडन मुस्किल भए पनि मिलेर सहज हुने भन्दै उनले नेपाल क्यान्सर सहयोग समूहको कोषमा ‘क्वाटर लाख’ (२५ हजार) सहयोग समेत गरे।

मन्तव्य राख्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

क्यान्सर पनि उपचारपछि निको हुन्छ। क्यान्सर हुनु जीवन सकिनु होइन, क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन क्यान्सर सर्भाइवरहरुको र्याम्प शो थालनी गरेको कार्यक्रम संयोजक तथा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले बताइन्।

विगतमा कोरोना महामारीलगायतका कारण स्थगत भए पनि यसपटक पुनः तेस्रो श्रृङखला आयोजना गरेको श्रेष्ठले जानकारी दिइन्। क्यान्सर पनि उपचार र मनोबलले निको हुन्छ भन्ने उदाहरण र्‍याम्प शोका प्रस्तोता भएको उनले बताइन्।

कार्यक्रममा क्यान्सर सर्भाइवर तथा साहित्यकार शान्ति शर्माले आफूले क्यान्सर हुँदा र उपचारका क्रममा देखे, भोगेको अनुभव कवितामा मार्मिक रुपमा प्रस्तुत गरिन्।

किवता वाचन गर्दै शान्ति शर्मा

क्यान्सरबारे आम रुपमा चेतना फैलाउन नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको सहकार्यमा ललितपुरको  हिमालय होटेलमा र्‍याम्प शो आयोजना गरिएको हो।

कार्यक्रममा डाक्टर, नर्स, क्यान्सर जितेका व्यक्तिहरुले गीत, कविता, नृत्य प्रस्तुत गर्नुका साथै र्‍याम्प शो गरेका थिए। ५० भन्दा बढी क्यान्सर सर्भाइवर सहभागी रहेको कार्यक्रममा कलाकार, मिस नेपाल लगायत सहभागी थिए। २०२२ की मिस नेपाल प्रियंका रानी जोशीले मनोबल मानिसको सबै भन्दा ठूलो तागत भएको बताउँदै क्यान्सर जित्ने अर्को आधार पनि मनोबल नै भएको बताइन्।

शोका क्रममा आर्थिक अवस्था कमजोर भएका क्यान्सरका बिरामीहरुका लागि आर्थिक संकलन समेत भएको थियो।

संयोजक: स्वरुपा श्रेष्ठ

आखिर र्‍याम्प शो किन त ? हामीले संयोजक स्वरुपा श्रेष्ठलाई राखेको जिज्ञासामा उनलने भनिन्, ‘ हामीले अन्य थुप्रै तरिकार र स्वरुपमा क्यान्सर बिरामी र सर्भाइभरलाई सहयोग र साथ दिँदै आइरहेका छौं । त्यसकै एउटा माध्यम र्‍याम्प शो पनि हो। यसको माध्यमबाट साथ दिउँ भन्ने सोच आएपछि यसको आयाेजना सुरु गरिएको हो। त्यसबेला सर्भाइवर अहिलेजस्तो खुल्न चाहँदैनथे। उनीहरूलाई एक ठाउँमा भेला पार्न नै गाह्रो थियो। र्‍याम्पमा आउन त धेरै पछिको कुरा भयो। यसको मतलब अहिले सबै खुलेर आउँछन भन्ने पनि होइन तर केही चेतना चाहिँ बढेको छ।  अब निको भएकाहरू मार्फत नै सकारात्मक सन्देश दिन सकिन्छ भनेर हामीले यो शोे गर्ने योजना बनाएका थियौँ। यसमा क्यान्सर सहयोग समूहका सबै साथीहरुको उत्तिकै मिहिनेत र साथ छ। त्यसैले पहिलो संस्करणमा २० जना उपस्थित गराउन हम्मे हम्मे भएको थियो, तेस्रोमा आइपुग्दा ५० औँ साथीहरु एकसाथ उभिनुभएको छ।

र्‍याम्प शोमा सहभागीहरु

क्यान्सर सर्भाइवर नेपाल क्यान्सर अस्पताल