Logo
६ पुस २०८१, शनिबार

गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गरिदिन भारतलाई कांग्रेस नेतृ राणाको आग्रह

अक्षरपाटी
२०८० वैशाख ४ , सोमबार ११:०४ मा प्रकाशित

धनगढी । कांग्रेस नेतृ तथा सांसद आरजु राणाले नेपाल र भारतबीच अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन आवश्यक रहेको बताएकी छन्।

धनगढीमा तीनदिने अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापनमा बोल्दै नेता राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण गर्न र गौरीफन्टा नाकालाई सञ्चालनमा सहजीकरण गर्न भारतलाई आग्रह गरेकी हुन्।

राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन अन्तरदेशीय नाका थप आवश्यक रहेको बताइन्।

उनले गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण गर्न अपिल गरिन।

कार्यक्रममा उनले डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल गर्नुपर्ने र भारत सरकारले पनि सहजीकरण गरिदिनुपर्ने धारणा राखिन्।

गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले २०४९ यता दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको छ।

राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माण हुनुपर्ने बताउँदै यो प्रदेश भौतिक पूर्वाधार विकासमा राम्रो हुँदै गएपनि यहाँको जनशक्ति विदेश पलायन हुने क्रम भने नघटेको बताइन्।

उनले नेपालमै काम गरौँ, नेपालमै श्रम गरौँ भन्ने अवस्था बनाउन स्वदेशमै रोजीरोटी सिर्जनाको अवस्थाका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताइन्।

मानसखण्ड सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले कोरेको मानसखण्ड करिडोरको मार्गचित्रलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक रहेको उनले बताइन्।

डा आरजु राणा