Logo
१४ वैशाख २०८२, आईतबार

जावलाखेल युथ क्लबको शीर्ष स्थान कायमै, चर्च ब्वाइजको पहिलो हार

अक्षरपाटी
२०८० वैशाख ९ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं। जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले चर्च ब्वाइज युनाईटेडलाई १–० गोल हराउँदै शीर्ष स्थान कायमै राखेको हो ।

जावलाखेलले शीर्ष स्थानमा दोस्रो स्थानको चर्च ब्वाइजभन्दा ५ अंकको अग्रता बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलका एनकोटो मोसाबीले निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा मोसाबीले एकल प्रयासमा निर्णायक गोल गरेका हुन्।

फोडे फोफानाको पासमा मैदानको मध्ये भागबाट एक्लै अघि बढाएर पेनाल्टी बक्स बाहिरबाट मोसाबीले प्रहार गरेको लेफ्ट फुटेट सट गोलमा परिणत भएको थियो।

जारी लिगमा उनको यो नवौं गोल हो । यससँगै ११ खेलबाट सात खेलमा जित निकालेको जावलाखेल २३ अंकसहित शीर्ष स्थानमा छ । चर्च ब्वाइजको भने यो पहिलो हार हो । ११ खेलमा चर्च ब्वाइज १८ अंक जोडेर दोस्रो स्थानमा छ ।

आजै दिउँसो भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब एफसी खुमलटारसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई एफसी खुमलटारले २–१ गोलले हराएको हो।

खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी कुडोले एक गोल फर्काए। खेलको १३ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए।

खेलको ५३ औं मिनेटमा मनाङका कुडोले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको पाएको थियो।

६१ औं मिनेटमा मनाङले फेरी पेनाल्टी पायो । तर, यसपटक कुडो पेनाल्टीमा चुके । उनको प्रहार बाहिरियो । त्यसपछि खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ गोलको जित दिलाए।

यससँगै खुमलटारले ११ खेलबाट १३ अंक जोडेको छ । समान खेलबाट मनाङको १५ अंक छ । यस्तै अर्को खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्सलाई २–१ गोलले पराजित गरेको छ।

पहिलो हाफको अन्तिम मिनेटमा चेन्चो ग्याल्सेनले मछिन्द्रलाई अग्रता दिलाए । लिगमा चेन्चोको यो पहिलो गोल हो । ६३औं मिनेटमा देवेन्द्र तामाङले टोलीको अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा खेल मछिन्द्रले २–१ गोलले जितेको हो।

यसजितसँगै मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । पराजित फ्रेन्ड्सको समान खेलबाट ११ अंक छ ।