Logo
८ वैशाख २०८१, शनिबार

भुटानी शरणार्थी प्रकरण : पूर्वउपप्रधानमन्त्री, मन्त्रीदेखि सल्लाहकार र सन्तानसम्म मुछिए

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०३:०५ मा प्रकाशित

काठमाडौं ।नक्कली शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।

यसअघि सोही प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संलग्न भएको आरोपमा पूर्वउपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजीतका छोरा निरज राई समेत तानिएका छन्।

उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा ५ करोडभन्दा धेरै रकम ठगीको अभियोगमा इन्द्रजित मंगलबारै पक्राउ परिसकेका थिए।

बुवा पक्राउ परेको प्रकरणमा उनका छोरा निरज राई पनि तानिएका हुन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ। दुवैजनाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन भन्दै करोडौँ रकम लिएको आरोप लागेको छ।

नक्कली शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ। घट्नामा मुछिएका अन्य व्यक्तिविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी प्रहरीले गरिरहेको छ।