Logo
२४ पुस २०८१, बुधबार

भ्रष्टाचारका ठूला फाइल अब खुल्दै जान्छन्, पुरै फिल्म देखाइन्छ : प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०८० वैशाख २३ , शनिबार ०३:०५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान ट्रेलर मात्रै भएको बताएका छन्।

नेकपा दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले अब भ्रष्टाचारका ठूला फाइल क्रमसः खुल्दै जाने समेत बताए।

उनले कुनै पनि दबाब, प्रभाव र त्रासमा भ्रष्टाचारलाई छुट नदिने भन्दै दाहालले भने, ‘मैले केही समय पहिले अब भ्रष्टाचारीहरुका फाइल खोलिन्छ भनेको थिएँ। आज तपाईँहरुले देखिरहेको सुरुवात मात्र हो। अब पुरै फिल्म देखिनेछ।’

उनले आउनसक्ने दबाब र घेराबन्दीमा जनताको साथ भएमा जतिसुकै अप्ठेरोको पनि सामना गर्न सकिने बताए। ठूला ठूला भ्रष्टाचारका कारण देश आर्थिक दबाबमा परेको पनि उनले सुनाए।

आज मात्रै नक्कली भुटानी सरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको विषयलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक दाहाललाई भेटेका थिए।

भेटपछि ओलीले पत्रकारलाई उक्त विषयमा कुरै नभएको दाबी गरे पनि प्रधानमन्त्री दाहालले भने–प्रधानमन्त्रीसँग सिधै कारबाही नगर्नुस भन्ने कुरा त भएन, तर विषय प्रवेश चै भएको थियो।’