दमक। कोशी प्रेश नामाङ्कनलाई लिएर विरोधमा उधिएका पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप हुँदा कम्तिमा २२ जना घाइते भएका छन्।
मंगलबार साँझ पहिचान पक्षधरले निकालेको राँके जुलुसका क्रममा झडप भएको हो। सो झडपमा १० जना प्रहरी र १२ जना आन्दोलनकारी घाइते भएको बताइएको छ।
स्थिति तनावपूर्ण भएपछि भिडलाई तितरबितर गर्न प्रहरीले १९ सेल अश्रुग्यास, पाँच राउण्ड ब्ल्यांक फायर र एक राउण्ड हवाई फाइर गरेको थियो।
सो क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित १० प्रहरी र १२ जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको दमकस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको पहिचानवादी नेता ताङ्साङ् लावतीको भनाइ छ।
पहिचान पक्षाधरहरुले कोशी नाम खारेज गरेर पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गरेका छन्।