काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को आरोपी पक्राउ परेपछि कांग्रेसका नेता तथा कार्यकर्ताले गृहमन्त्रीलाई धन्यवाद दिएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठकोमा पुगेर कांग्रेसका ३० भन्दा बढी नेताले आफूहरु गृहमन्त्रीको साथमा रहेको भन्दै उनीहरुले अनुसन्धानलाई अझ शसक्त बनाउन भनेका हुन्।
नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेर अनुसन्धानमा कुनै पनि दबाब र प्रभावमा नपर्न सुझाव दिएको एक नेताले बताए।
संस्थापन इतरका ३० जनाभन्दा बढी कांग्रेसका नेताहरूले गृहमन्त्रीलाई भेटेर छानबिनलाई निष्कर्षमा पुर्याउन र दोषी जो कोही भए पनि उम्कन नदिन खबरदारी समेत गरे।
कांग्रेस नेताहरु गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य, रञ्जित कर्णलगायतका नेताहरुले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाएका हुन।
नक्कली भुटानी शरणार्थी करणमा सरकारका सचिव, तत्कालीन गृहमन्त्रीका सल्लाहकारलगायतका व्यक्तिहरु पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छन।
प्रहरीले आजै मात्र मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतबाट अनुमति लिइसकेको छ। यस्तै, कांग्रेस सांसद्वय आरजू राणा र मञ्जु खाँणको पनि नाम मुछिएको छ। आरजुले भने उक्त अडियो फेक भएको भन्दै अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।