Logo
७ असोज २०८०, आईतबार

नैतिकता स्खलित भएको नयाँ तस्बिर

अक्षरपाटी
२०८० जेठ १ , सोमबार ११:०५ मा प्रकाशित

सम्पादकीय

हुन त यतिबेला मानवीयता हराएको छ। करुणा कमजोर बनेको छ। मानिस भाइरलको भ्रममा बाँचेको छ। संसदमा छिरको सांसद जनताका पीडा कम बोल्छ, आफू भाइरल हुने ुमसलाु सामाजिक सञ्जालमा बढी सोचिरहेको हुन्छ।

देश यतिबेला आर्थिक मन्दीमा गुज्रिसकेको सत्य राष्ट्र बैंकले नै बोलिरहेको छ। चालू आर्थिक वर्षका कैयौँ सूचक नकारात्मक भइरहेका बेला नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने जिम्मेवारी छ।

तर देशको ध्यान यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणले तानेको छ। चोक, चौतार, चिया पसलदेखि, सामाजिक सञ्जाल र राजनीतिक नेतृत्वको ध्यान यसैमा केन्द्रित छ। पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, वहालवाला सचिवदेखि गृहमन्त्रीका सल्लाहकार आफ्नै नागरिकलाई अनागरिक बनाएर मानव तस्करीमा लागेको आरोपमा तानिएका छन्। पक्राउ परेर उनीहरु बयानका क्रममा छन्।

केही राजनीतिक नेतृमाथि पनि यो आरोपको बाछिटा परेको छ। आरोप लाग्दैमा कोही फरार छन् भने कोही आफ्नो प्रष्टिकरणमा दत्तचित्त भएर लागेका छन्।

आरोप लाग्नु नै अपराधि करार हुनु होइन। तर ‘हाइप्रोफाइल’ व्यक्तिहरुलाई पक्राउ पूर्जी जारी हुनु र पक्राउ पर्नु नै आधा सजाय हुनुसरह हो। नैनिकताको कसीमा राखेर हेर्ने हो भने यस्ता जघन्य अपराधमा नाम मुछिनु नै नैतिकता र इमान भएको व्यक्तिका लागि मरेतुल्य अवस्था हो।

जसले देश बनाउँछु, जनताको भाग्य र भविश्य सुधार्छु भनेर राजनीति गरेका छन्, कर्मचारीतन्त्रको जिम्मा लिएका छन्, उनी व्यक्ति मानव तस्करीजस्तो आरोपमा पक्राउ पर्छ भने त्यो भन्दा अगतिलो अवस्था अरु हुन सक्दैन।

मुलुकको आर्थिक अवस्था जरजर बन्दै गएको छ। जेनतेन जिन्दगी निर्वाह गरिरहेका नागरिकको भान्सा महंगिएर साँझविहानकै चिन्ताले पिरोलेका बेला यस्ता कुकृत्य बाहिरिनु देशकै लागि लज्जाको विषय हो।

तर आरोप लागेका व्यक्ति आफूले कुनै ठूलो बहादुरी गरेझैँ म्याद थपका लागि अदालतको आँडनमा टेक्दा हात खडा गरेर जसरी अभिवादन गरिरहेको दृश्य बाहिरिएको छ त्यो दृश्यले धेरै इमान भएका व्यक्तिका कनसिरी तातेका छन्।

अझ तिनै आरोपीलाई प्रहरी प्रशासनले दिएको सम्मान र न्यायाधीशको नरम व्यवहारले लाज पनि लजाइरहेको छ।

गाउँमा सामान्य फलफूल चोरलाई हतकडी लगाएर म्याद थपका लागि लैजाने प्रहरीले खुलेयाम ‘महान नेताु’ को शैलीमा खुलेयाम हात खडा गर्दै म्याद थपका लागि अदालत लैजाने र सोफामा राखेर बयान लिने शैलीले अझै पनि यो देशमा ‘सानालाई ऐन, ठूलालाई चैन’को नीति अबलम्बन छ भन्ने प्रस्ट पारको छ।

पूर्व भीआईपीलाई आरोपी हुँदा पनि आम नागरिक, कार्यकर्ता र कर्मचारीबाट जसरी सम्मान दिइएको छ, यसले हामी नेपालीको चेतना र चाकडीको स्तरलाई पनि प्रस्ट्याइदिएको छ।

हो, अपमान कसैलाई गर्ने अधिकार छैन, तर कानुनी रुपमा हुनुपर्ने समानता नहुनु भनेको अर्को अन्याय मात्रै नभएर घन्य अपराधको आक्षेप लागेकाहरुका अघिल्तिर हामी जसरी लम्पसार भएका छौँ यसले हाम्रो चेतना, चाकडी र चाप्लुसीको स्तरलाई प्रस्ट देखाइदिएको छ।

भोलि निर्दोश भएर आउनेवित्तिकै उनीहरुले पाइरहेको सम्मान दोब्बर होला, अनुसन्धान र कानुनले सफाइदिएपछिको उनीहरुको शान र इज्जत झन बढ्ला तर आक्षेप लागेकालाई आफै न्यायाधीश, आफै न्यायमूर्ति झै वकालत गर्नु र आरोपीका अघिल्तिर उभिएर लम्पसार पर्नु हाम्रो पनि नैतिकताको स्तर स्पस्ट पार्नु हो। त्यसैले यदि हामी साँच्चै न्यायप्रेमी हौँ भने दूधको दूध र पानीको पानी हुने कुरामा संयमित र तटस्त हुनु बुद्धिमानी हुनेछ।