Logo
१३ वैशाख २०८१, बिहीबार

राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्ने अधिकार कसले दियो ? : केपी ओली

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ०२:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर पुछ्नु पर्ने, पोते निकाल्नुपर्ने अवस्थालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

उनले नेपाली संस्कृति र सभ्यतामाथि नजानिँदो ढंगले आक्रमण र छेकबार भइरहेको भन्दै त्यो अधिकार कसले दियो ? भनेर प्रश्न समेत गरेका छन्।

उनले भारतमा पञ्जाबीले कतै पनि फेटा खोल्नु नपर्ने उदारण पेश गर्दै भने ‘राष्ट्रिय परिचयपत्र लिँदा महिलाले सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने, पुरुषले टोपी खोल्नुपर्ने हुँदो रहेछ, आफ्नो संकृति मेटाउने यो अधिकार कसले दियो?’

एमालेको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी बैटकमा धारणा राख्दै गर्दा ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेटाउन खोज्नु अपराध भएको बताए।

उनले पुरुषले ढाँका टोपी खोल्नुपर्ने, महिलाले सिन्दू पुछ्नुपर्ने, पोते खोल्नुपर्ने त्यस्ता राष्ट्रिय परिचयपत्र फालिदिए हुने भन्दै आक्रोस व्यक्त गरे।

उनले भने, ‘के नेपालीले टाई लगाउनुपर्ने हो ? अरुका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने हो ?’

पञ्जाबीले फेटा जहाँ पनि लगाउन पाउने उदाहरण पेश गर्दै उनले टोपी नेपालीको पहिचान भएकाले त्यो खोल्न नपर्ने मात्र बताएनन्, मन नलाग्नेले नलगाओस् तर मन लाग्नेले लगाउन पाउनुपर्ने बताए।

उनले नेपाली संस्कारमा श्रीमान वरण गर्दा सिन्दूर लगाइने र श्रीमान मर्दा सिन्दूर पुछिने भएकाले सिन्दूर पुछ्नका लागि पानी र रुपमाल राखिनुको अर्थ के हो ? भन्दै प्रश्न समेत गरे।

‘सिन्दूर पुछिनुको अर्थ विधवा हुनु हो। श्रीमान रहँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन’, उनले भने,‘कसका निर्देशनमा बनाइन्छ यस्ता कानुन? पोते किन खोल्नुपर्यो, सिन्दूर किन पुछ्नुपर्यो? परिचयपत्र होस् कि नागरिकता होस्।’

उनले नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमलाई भइरहेको बताए। हाम्रो सुन्दर कुराहरुमा, पहिचान र परिचयमा हमला भइरहेको जिकिर गरे।

अध्यक्ष ओलीले संसदमा बहस भइरहेको सांसदको पोशाक सम्बन्धी विषयमा पनि धारणा राख्दै उनले मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्ने बताए।

‘स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन। स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा नहुने भन्नुभयो भने त्यो शोभनीय मानिँदैन’, ओलीले भने, ‘बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ? धेरै उत्ताउलिएर किन यसो, किन उसो भनेर नभनौँ।’

केपी ओली