Logo
७ वैशाख २०८२, आईतबार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शौभाग्य हस्पिटलको साथ

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार ०३:०६ मा प्रकाशित

धनगढी। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा सञ्चालनमा आएको शौभाग्य हस्पिटल जोडिएको छ।

धनगढी उपमहानगरपालिका २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो। अवार्डका आठ वटा विधा मध्येको स्पेशल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो।

यो विधाको नाम शौभाग्य हस्पिटल स्पेशल अवार्ड रहनेछ। प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टले हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि सहयोग गर्ने बताए।

उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए।

निजी अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा आएको छ।

झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै विशेषज्ञ सेवा सहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित कृषि सामग्री संस्थानको अगाडि मेनरोडमा सञ्चालनमा आएको हो।

२५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र शुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा दिने गरी केही समय अघिदेखि सञ्चालनमा ल्याइएको हो।

मेरुदण्डको शल्यक्रिया गर्ने विशेषज्ञ सुदूरपश्चिम प्रदेशमा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरुको दावी छ।

बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायत सबै स्वास्थ्य सेवाहरुको बिशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिईरहेको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए।

आईसियु, एनआईसियु सेवासहित वातानुकुलित कक्षहरुमा विरामीले उपचार पाउने अध्यक्ष जोशीले बताए।
हस्पिटलले ६ महिनाभित्र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने जनाएको छ। २५ शैय्याबाट अस्पताल सुरु भएपनि छिट्टै एक सय शैय्याको पुराउने योजना बनाईएको छ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ।

मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ। अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।