Logo
६ जेठ २०८१, आईतबार

दादुरा निवारण गर्ने भनेकै वर्ष महामारी फैलिँदै, भीडभाड र विद्यालयमा सतर्कता अपनाउन अपिल

अक्षरपाटी
२०८० जेठ २९ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं। नेपाल सरकारले यो वर्ष अर्थात सन २०२३ मा दादुरा प्रकोप निवारणको लक्ष लिएको थियो।

विडम्बना यही वर्ष देशका करिब १६ जिल्लामा दादुरा महामारीकै रुपमा फैलिएको पुष्टि भएको छ। उसो त सरकारले सन् २०१९ मै दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। तर त्यसबेला दादुराको संक्रमणदर बढ्न थालेपछि निवारणको लक्ष्य यो वर्षसम्मलाई सारिएको हो।

विश्व स्वास्थ्य संगठनले २८ दिनमै कुनै एक ठाउँमा पाँच वा सो भन्दा बढी व्यक्तिमा एकैपटक दादुरा संक्रमण पुष्टि भएमा त्यसलाई महामारी भन्न मिल्ने भनेको छ।

त्यसरी हेर्दा गत पुसयता देशका १६ जिल्लामा एक हजारभन्दा बढी मानिसमा विशेषगरी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गत जेठ २४ गते परीक्षण गरिएका केही नमुनामध्ये ४ नमुनामा दादुरा प्रकोप पुष्टि भयो।

ती नमुना काठमाडौंको गोकर्णेश्वरस्थित एक विद्यालयमा पढ्ने विद्यार्थीहरुको थियो। सो विद्यालयमा ५ सय ६० जना विद्यार्थीमध्ये ६२ विद्यार्थीमा दादुराको लक्षण देखिएको छ। यसरी हेर्दा यो महामारीको रुप हो।

स्वास्थ्य मन्त्रालयले उक्त घटनापछि गम्भीर हुँदै उपत्यका भित्र दादुराका सक्रिय संक्रमितको खोजी गरिरहेको दाबी गरेको छ।

गर्मीमा तीव्र फैलावट हुने दादुरा संक्रमणले अझ धेरै बालबालिका प्रभावित भएको र हुनसक्ने अनुमान चिकित्सकहरुको छ।

यो संक्रमण १ जनाबाट १८ जनामा हुनसक्ने भएकाले गर्मीमा एउटै विद्यालयमा पढ्ने, स्वीमिङ पोखरीमा संक्रमितले पनि स्वीमिङ गर्नसक्ने भएकाले यसको फैलावट अझै बढ्ने चिन्ता विज्ञहरुको छ।

हाल उपत्यकाकामा प्रायः सबै स्वास्थ्य संस्थामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिका उपचारका लागि आउन थालेको चिकित्सकहरुको भनाइ छ।

कान्ति बाल अस्पतालमा उपचारका लागि आएका ६० बिरामीमध्ये ४ जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको कान्ति बाल अस्पतालका सिनियर कन्सल्ट्यान्ट डा सुमित अग्रवालको भनाइ छ।

स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो ५ महिनामा देशभर १ हजार ३ जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।

सरकारले दादुरा निवारणका लागि ९ देखि १५ महिनाका बालबालिकालाई देशैभर खोप सन्चालन गरिरहेको छ। तर त्यसको जिम्मा स्थानीय सरकारको हो। स्थानीय सरकारको लापरवाहीका कारण अहिले पनि देशभरका करिब ४ प्रतिशत बालबालिकाले खोपल लिन पाएका छैनन्, त्यो भनेको करिब ३ लाख ३० हजार बालबालिका खोपबाट बञ्चित भएको अनुमान छ।

स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारको भर पर्दा र अनुगमन तथा समन्वय प्रभावकारी बनाउन नसक्दा पनि दादुराले महामारीको रुप लिन पुगको जानकारहरु बताउँछन्। स्वास्थ्य मन्त्रालयले अब थप क्षति नहोस भनेर सतर्कता अपनाइएको बताएको छ।

उसो त दादुरा गत पुसमै बाँकेमा पुष्टि भएको थियो। त्यहीबेला नियन्त्रणमा तदारुकता अपनाइएको भए बाँकेमा मात्रै हाल ३ सय २९ जनामा दादुरा पुष्टि हुने सम्भावना कम हुने चिकित्सकहरु बताउँछन्।

दादुरा संक्रमण तीव्र बन्दै गएको र देशभर गर्मी पनि उच्च भएकाले यसको संक्रमणबाट जोगाउन तीनै तहका सरकारले रफ्तारमा निवारणको कदम चाल्नुपर्ने सुझाव विज्ञहरुको छ।

आम जनसमुदायले पनि सामुहिक रुपमा पौडी खेल्दा, भीडभाडमा जाँदा, विद्यालयमा विद्यार्थीहरुको पठनपाठनका क्रममा संक्रमितको शंका लागेमा सचेत हुन उनीहरुको अपिल छ।

दादुरा महामारी