Logo
२४ वैशाख २०८१, सोमबार

काठमाडौं, कालिकोट र सुर्खेतमा १२ जनामा दादुरा संक्रमण

अक्षरपाटी
२०८० जेठ २५ , बिहीबार १०:०६ मा प्रकाशित

काठमाडौं। बिहीबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जिल्लाका बालबालिकामा दादुरा रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिरहेका बेला काठमाडौं र सुर्खेतका नौ जनामा दादुरा पुष्टि भएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ मा रहेको एक विद्यालयका ४ जना विद्यार्थीमा दादुरार संक्रमण पुष्टि भएको हो।

त्यस्तै सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। शंकास्पद ६५ जनाको चेकजाँच गर्दा पाँच जनामा दादुरा पुष्टि भएको हो।

वीरेन्द्रनगर र चिङ्गाडमा दुई, दुई तथा गुर्भाकोटमा एक जनामा दादुरा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनसार कालीकोटमा पनि तीन जनामा दादुरा पुष्टि भएको छ।

परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुना परीक्षणका लागि गोकर्णेश्वरबाट ल्याइएको नमुनामध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो।

विद्यालयमा पढ्ने १५ वर्ष मुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमूना परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य सेवा विभागले बिहीबारदेखि ९ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको छ।

दादुरा