चितवन,२ जेठ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताए । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।
३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ ।
महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आब्हान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो । अब भने मापदण्डमा केही लचकता अपनाइने उपनिर्देशक अर्यालले बताए ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्यारापिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ ÷३ तलाको टावर बनाइने छ ।
एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
धुर्मस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिगाहा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।