Logo
२० वैशाख २०८१, बिहीबार

तिमी नभएको भए

अक्षरपाटी
२०८० असार २ , शनिबार ०१:०६ मा प्रकाशित

० लीला अनमोल

थाहा छ पानीको रङ हुँदैन
यस्तै बेरङ्ग हुन्थ्यो होला जिन्दगी पनि
र जबरजस्ती अँठ्याउँथ्यो होला परिवेशले
प्रतीक्षाले रुज्थे होलान् समयका बैंशालु फूलहरू
र झर्थ्यो होला ओइलिएर
चाहना बोकेको मेरो विवशता
आकाश छुन्थ्यो होला जिज्ञासाले
उन्मादको रङ बोकेर बादल
कुनै एकपल एकान्तमा ।

न भन्न सक्थेँ होला खोलेर मनका कुरा सबै
न गन्न नै सक्थेँ होला कुनै प्रेमीको सम्झनामा
टोलाएर आकाशको तारा पनि
नसुनाउन सक्थेँ हर्षित हुँदै
खुशीका अनगिन्ती शृङ्खलाहरू
नसक्थेँ पोखिदिन
विपत्तिमा छचल्किदा भावावेगहरू।

छिप्पिदै गएपछि एकाएक
प्रकृति पनि निरस लाग्थ्यो होला
प्रोत्साहन नभेटेर आत्मियताको
ऐठन पर्थ्यो होला मेरो गौरव
जिस्काउँथे होला पटकपटक प्रेमीजोडीहरू
मेरो एक्लो उपस्थितिलाई

बिलाउँदै गएर मेरो गतिशिलता
जीवनको रिक्तता कोक्याउँथ्यो होला
जाँगर रोगाएर सिर्जनाबाट
थला पर्थ्यो होला प्रगति पनि
कुसाइतमा परेर जीवनयात्रा
दुर्घटित हुन्थ्यो होला मेरो उमङ्ग

र, घुर्मैलो रङ्ले पोतिन्थ्यो होला बैंस

कहाँ राम्रो हुन्छ नखुलेको क्षितिज ?
नसुहाउँछ जूनबिनाको आकाश
लाग्दैन राम्रो
बगैंचामा चरेकी एक्ली परेवी
चिमोट्दो हो व्यग्रताले
मेरो एक्लोपनलाई घरिघरि

र जेल्दो हो
शङ्काको तारले मेरो अस्मिता
उल्लासले दिग्दारीको घुम्टो ओडेर
जिस्काउँदो हो बेलाबखत

र ढल्दो हो
सपनाको भव्यमहल पनि
साँच्चै !
कोरम नपुगेर मेरो सौन्दर्यमा
जीवनको मिटिङ
बिनायोजना र निर्णय
समाप्त हुने थियो
तिमी नभएको भए ।।

कविता लीला अनमोल
यो पनि हेर्नुहोस् : देश भनेको के हो !