Logo
१५ वैशाख २०८१, शनिबार

देश भनेको के हो !

अक्षरपाटी
२०८० माघ १ , सोमबार ०६:०१ मा प्रकाशित

० लीला अनमोल

भर्खर स्कुल जाँदै गरेकी
मेरी सानी छोरीले सोधी
‘आमा देश भनेको के हो
मैले लेख्ने कापी हो कि
मैले लगाएको नाना हो देश?
कि पल्ला घरको अङ्कलले
हिजो मिर्जालाई खेल्न भनेर ल्याएको
त्यो ठूलो भकुण्डो हो देश ?’

उसका यी प्रश्नहरूमा अनुत्तरित म
आफैलाई सोधे फेरि एकपटक देश भनेको के हो ?
देश सिमाना हो कि
आमाले हरेक रात
चुहिएको छानाबाट देख्ने चिसो सपना हो देश ?
या भूकम्पबाट पीडित बनेका
र अझै राहत नपुगेर
भोकभोकै मर्दै गरेका
साना नानीहरूको अभाव हो देश ?
कि त्यसकै नाममा आएको
राहत सामाग्रीको भ्रष्टाचार हो देश ?
वा देश भनेको
जाडोमा लगलग काम्दै गरेका
केचनाका मुसहर बस्तीका
वृद्धवृद्धाहरूको आशाको केन्द्र हो देश ?
देश भनेको के हो ?

औषधी नपाएर
मृत्युको समय पर्खिरहेकी
भिरकुने डाँडाकी गर्भवती किशोरी
ललिता चाम्लिङ्‌को भविष्य हो देश
वा सामान्य ज्वरो आउँदासमेत
देशको ढिकुटी रित्याएर
विदेशका ठूला-ठूला हस्पिटलहरूमा
उपचार गर्नैपर्ने
शानदार पारिपाटी हो देश ?
खै के हो थाहा छैन छोरी !

भर्खरै आफ्नै काकाबाट बलात्कृत भएकी
छ वर्षिया छुनु गौतमको
निर्दोष आँखा हो देश ?
शक्तिको उन्मादले
न्यायको पञ्जाबाट फुस्किएको
आफ्नै काकाको बलात्कारी अनुहारलाई
उ टुलुटुलु हेरिरहन्छे

छलछामको पालिस लगाएर
शिर ठाडो गरी हिँड्ने
छुनु गौतमको काका
पुण्यप्रसादको इज्जतलाई पुनर्स्थापित गर्ने
वर्तमानको घिनलाग्दो परिवेश हो देश ?

मलाई त लाग्छ छोरी
न्याय मरेर गन्हाएको
मुर्दाहरूको सुनसान सहर हो देश
र सत्यलाई छलछाम गरेर
असत्यको पक्षमा वकालत गर्ने
घिनलाग्दो समय हो देश
म स्वयं धरमरमा छु यतिबेला
देश भनेको के हो ?

साउदी, कतार र दुबइका कम्पनीहरूमा
दिनै अवतरण भएका
हाम्रा दाजुभाइहरूको
पसिना पो हो कि देश
या ठमेलका रेस्टुरेन्टहरूमा
‘ठुम्का गिराले’ भन्दै उत्ताउलो गरिरहेका
सपना,आर्जु र पवित्राहरूको अपवित्र संस्कार हो देश ?

हत्या, हिंसा, चोरी, डकैती, बलात्कार
र भ्रष्टाचारको दियो सल्काएर
राजनीतिक भागवण्डाको उत्यालोमा
निर्बाध उफ्रिरहने
सत्तालोलुपहरूको झुन्ड हो देश ?

छोरी मलाई त लाग्छ
तिमीहरू निस्फिक्री मुस्कुराउँदै
साँझ-बिहान
खुशीको भकुण्डो उफार्ने
फराकिलो आँगन हो देश
वा गरिबको चुल्होमा दुई छाक खान पाउनु हो देश !

हुन त म पनि अन्योलमा छु
समग्र नेपालीको साझा खुशी हो कि देश ?
जातीयताका नाममा क्षत विक्षत पारेर
अंशबण्डामा पाउने
माटोको सानो टुक्रो हो देश ?

वा शेरबहादुर, प्रचण्ड र खडकप्रसादहरूको
चलखेल गर्ने अखडा हो देश ?
मलाई त लाग्छ –
भण्डारी बाजे र वीरबहादुर नेम्बाङहरूको
रातभरि धान नाच्ने पवित्र भूमि हो देश
वा धार्मिक उत्सवमा
सङ्गिनीमा रमाउँदै गरेका
चन्द्रकुमारी थेबे, राधादेवी पौडेल र मगर्नी भाउजूहरूको
मिलनबिन्दु देश हो

चेतना भया छोरी
छत्तीस वर्णको
साझा फूलबारी बनाउने
तिम्रा जिजुबाजे पृथ्वीनारायण शाहको
त्याग, तपस्या र बलिदानीहरूको
पराकाष्ठा हो देश

जहाँ,
सबै जात, भाषा र सम्प्रदायका
मानिसहरू मुस्कुराउन पाउन
हो छोरी देश भनेको त्यही हो
जहाँ हामी सबै मिली
एकताको मिठो गीत गाउन सकूँ।।

(कवि अनमोलको प्रकाशाेन्मुख कृतिबाट)

कविता लीला अनमोल
यो पनि हेर्नुहोस् : देश भनेको के हो ?