काठमाडौं २५ असार। देशमा हाल मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक, दुई स्थानमा मेघ, गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ।
राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ, गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।