काठमाडौं ९ साउन। नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोलेरै तस्करीमा सहयोग गरिरहेको पाइएको छ।
विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्।
‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो।
सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्।
उनीहरूले चिनियाँ एजेन्टमार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्। उनीहरूले नेपाल र भारतमा बसेर हङकङका कार्यालयमा रहेका चिनियाँ एजेन्टहरूसँग सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ भनेर नागरिक दैनिकले लेखेको छ।
पछिल्लोपटक राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुन बरामद गरेपछि सुन तस्करीमा अनेकन् प्रश्न उठिरहेका बेला नेपाली र भारतीय व्यापारीको मिलेमतोमा हङकङमा कार्यालय खोलेर नेपालको बाटोबाट भारततर्फ सुन तस्करी गर्न सहयोगी भूमिका खेलिरहेको खुल्न आएको स्रोतले जनाएको छ।
नेपालमा तीन महिनाअघि खुलेको रेडी ट्रेड नामको कम्पनीले २२ पटकभन्दा बढी मोटरसाइकलको ‘ब्रेक सु’मा आयात गर्दा त्यसमा सुन लुकाएर ल्याएको अनुमान गरिएको छ। गत बुधबार मात्रै राजस्व अनुसन्धान विभागले भन्सार क्षेत्रभन्दा बाहिर सिनामंगलबाट करिब १ सय किलो सुन बरामद गरेको थियो।
‘नेपाली व्यापारीहरूले भारतीय र चिनियासँग समन्वय गर्ने काम गर्छन्। पछिल्लोपटक उनीहरूले आफ्नो लगानीभन्दा पनि भारतीय र चिनियाँ व्यापारीको लगानीलाई मध्यस्थता गरेर नेपालको भूमिबाट भारतीय भूमिसम्म सुन पुर्याउने काम गर्छन्। त्यसबापत उनीहरूले प्रतिकिलो २ लाख रूपैयाँ कमिसन लिने गरेका छन्,’ स्रोतले भन्यो।
सुन तस्करी