Logo
११ पुस २०८१, बिहीबार

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

अक्षरपाटी
२०८० भदौ २५ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ,२५ भदौ कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।

प्राधिकरणले आइतवार हिजोदेखि गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत् आपूर्ति गर्दै आएको थियो ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भइ सर्वे भइरहेको छ ।