Logo
१५ वैशाख २०८१, शनिबार

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन,ट्राफिक व्यवस्था अस्तव्यस्त

अक्षरपाटी
२०८० असोज ३ , बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं,३ असोज । नेपाल शिक्षक महासंघ सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ती जनाउँदै आन्दोलित भएको छ। महांसघले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बनेको विधेयक २०८० शिक्षकहरूको हकहित विपरीत भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।

देशभरबाट विद्यालय नै बन्द गरेर काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन्। शिक्षकहरूको प्रदर्शनका कारण सो सडक खण्डको ट्राफिक अस्तव्यस्त बनेको छ।

विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण,शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। वार्तामा आह्वान गरेपनि महासंघले भने आफूहरुको सवाल शिक्षा मन्त्रालयसँग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।

विधेयक संशोधन नभएसम्म काममा नर्फकिने उनीहरूले चेतावनी दिएका छन्। नेपालमा हाल सार्वजनिक र निजी गरी हाल ३४ हजार विद्यालय सञ्चालनमा छन्।