



काठमाडौं । प्राकृतिक खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन ५० जना नेपाली अधिकारीको टोली भारत पुगेको छ।
भारत सरकारको पूर्ण प्रायोजनमा सञ्चालन असोज १३ देखि सञ्चालनमा भइरहेको प्रशिक्षणमा सहभागी हुन नेपाली अधिकारीहरूको टोली भारत पुगेको हो। प्रशिक्षण असोज १७ गतेसम्म भारतको कुरुक्षेत्रस्थित गुरुकुलमा आयोजना हुनेछ।
प्राकृतिक तथा दिगो खेतीका अभ्यासमा क्षमता अभिवृद्धि तथा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। कार्यक्रममा सहभागी नेपाली अधिकारीहरूले प्राकृतिक खेतीका प्रविधिबारे व्यावहारिक अनुभव हासिल गर्नुका साथै दिगो कृषिसम्बन्धी अनुभव र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने अवसर पाउनेछन्।
यो नेपाली अधिकारीहरूको प्राकृतिक खेतीसम्बन्धी भारतमा आयोजना गरिएको तेस्रो ब्याचको प्रशिक्षण हो। यसअघि पहिलो र दोस्रो ब्याचले क्रमशः सेप्टेम्बर २०२३ र अगस्ट २०२५ मा सफलतापूर्वक प्रशिक्षण लिएको भारती दूतावास काठमाडाैंले जनाएकाे छ।
प्रशिक्षण कार्यक्रमलाई प्राकृतिक तथा दिगो खेतीका क्षेत्रमा क्षमता विकास र ज्ञान आदानप्रदानलाई सुदृढ गर्ने भारत सरकारको पहलका रूपमा लिइएको छ। यसले प्राकृतिक खेतीका प्रविधिमा सहभागीहरूको व्यावहारिक क्षमता बढाउन तथा दिगो कृषिका अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच कृषि क्षेत्रमा लामो समयदेखि रहँदै आएको सहकार्य तथा दिगो र वातावरणीय रूपमा जिम्मेवार कृषि अभ्यास प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई समेत कार्यक्रमले प्रतिबिम्बित गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, कार्यक्रमले दुई देशबीचको घनिष्ठ र बहुआयामिक साझेदारीअनुरूप नेपालमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्धिका लागि भारतको निरन्तर सहयोगलाई थप जोड दिएको जनाइएको छ।
भारतीय सहयोग

