काठमाण्डौ,९ असोज । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो । वार्ताको तयारीबारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो ।
चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ‘ई’ ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहनु भएको छ ।
आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ‘ई’ लाई भेट्नु भएको छ । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनु भएको थियो ।