Logo
१२ पुस २०८१, शुक्रबार

दशैं-तिहार लक्षित सहुलियत पसल असोज २१ देखि देशभर ९८ स्थानमा सञ्चालनमा आउने

अक्षरपाटी
२०८० असोज ९ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं,९ असोज । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।’

३ मंसिरसम्म सञ्चालन हुने सहुलियतपूर्ण पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा छुट पाइने मन्त्रालयले जनाएको छ ।

सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान गरी तीन वटा निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ ।

दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने छ ।