चितवन, २१ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।
बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो ।
भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेशनले २० बिघा छ कट्ठा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो । फाउन्डेशनले रङ्गशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि अहिलेसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख रुपैयाँ ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
रङ्गशाला निर्माणमा अहिलेसम्म फाउन्डेशनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रुपैयाँ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख रुपैयाँ ऋण छ ।