काठमाडौं। भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आएका छन्। ‘
सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आएका हुन।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेकी छन्।
काठमाडौ अवतरण गरेलगत्तै उच्चस्तरीय राजनीति भेटघाटमा सक्रिय हुने तालिकासहित आएका विदेशमन्त्री जयशंकर दिउँसो १ बजे समकक्षी एनपी साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।
पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ।
विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यतालिका छ।
साँझ ६.१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन्। त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम छ । त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन्।
विदेशमन्त्री जयशंकरको विदेश भ्रमणमा खासगरी विद्युत् व्यापार सम्झौतालगायत दुई मुलुकबीच सहमति हुने बताइएको छ।
परराष्ट्रका एक अधिकारीका अनुसार जयशंकरको भ्रमणका क्रममा मुख्य तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।
महाकाली सन्धिमा रहेको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेगरी डीपीआर घोषणा गर्ने, भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावट विद्युत् खरिद गर्ने र भारतीय दूतावासले ‘साना विकास परियोजना’ (एसडीपी) कार्यक्रममार्फत सिधै परिचालन गर्न पाउने रकमलाई बढाउने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।
एश जयशंकर