Logo
१६ वैशाख २०८१, आईतबार

पशुपति क्षेत्रमा विकास कोषको मनोमानी, दर्शनार्थीको भावनामा ठेस, चाहनामा बन्देज

अक्षरपाटी
२०८० पुस २१ , शनिबार ०४:०१ मा प्रकाशित

O शंकर खैराली

काठमाडौं। पुशपति क्षेत्र विकास कोषले एक निजी संस्थासँग मिलेर आम दर्शनार्थीको भावनामा ठेस पुग्ने काम मात्र होइन, हिन्दू धर्मावलम्वीको चाहनामा बन्देज लगाउने काम गरेको छ।

प्रचलनमै नभएको डिजिटल कपिराइट ऐनको हवाला दिँदै कोषले बुढासुब्वा डिजिटल प्रालि नामको एक निजीसँस्थालाई लाभ पुग्ने गरी बागमती दनी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो कुनै पनि नर्शनार्थीले खिच्न र कुनै पनि सामाजिक सञ्जालमा राख्न वा सार्वजनिक गर्न नपाउने सूचना जारी गरेको हो।

पशुपतिको नियुक्तिदेखि संस्कृति मन्त्रीको अभिव्यक्तिलाई लिएर चर्किएको विवाद साम्य नहुँदै कोषले गरेको यो निर्णयलाई अर्थपूर्ण रुपमा मात्रै हेरिएको छैन प्रचलनमै नभएको ऐनको हवाला दिँदै गरिएको निर्णयलाई कोषको अर्घेल्याँइका रुपमा व्याख्या गरिन थालेको छ।

अमेरिकामा प्रचलनमा रहेको डिजिटल कपिराइट एक्टलाई आधार बनाएर विश्वभरका हिन्दूहरुको धरोहरका रुपमा रहेको पशुपति नाथको आरती र दीप प्रज्वलनको क्षण आम दर्शनार्थीले कैद गर्न बन्देज लगाउनु कानुनसम्मत नभएको कानुनका जानकारहरुको विश्लेषण छ।

पुशपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले संयुक्त सूचना जारी गरेर पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जामा पोस्ट गरे कपीराइट ऐन अन्तर्गत कारवाही हुने चेतावनी जारी गरेका छन्।

देश विदेशबाट आउने दर्शनार्थीले यस पावन भूमीमा पुगेर यहाँको धार्मिक तथा साँस्कृतिक क्षणको भिडियो बनाउने चाहनामै बन्देज पुग्ने उक्त निर्णय कानुनी रुपमा भने जायज नभएको कानुनका ज्ञाताहरुको ठहर छ।

‘यस्तो एन प्रचलनमै छैन’, जानकाहरु भन्छन्, ‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ४ ले धार्मिक कुरामा प्रतिलिपि अधिकार लाग्दैन। दफामा प्रस्ट छ, कुनै विचार, धर्म, समाचार, संचालन विधि, अवधारणा, सिद्धान्त, अदालतको फैसला, प्रशासनिक निर्णय, लोकगीत, लोक कथा, उखान र सामान्य तथ्यांकजस्ता कुराहरुलाई व्यक्त वा वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन।’

ऐनमा प्रस्ट भए पनि कोष र प्रालिले पशुपति क्षेत्रमा ठूलो ठूलो अक्षरमा संयुक्त सूचना टाँसेर आगन्तुक र आस्थावानहरुलाई भिडियो खिचे कारवाहीको चेतावनी जारी गरेको छ। जुन कोषको मिलेमतोमा गरिएको ज्यादतीका रुपमा व्यख्या गरिएको छ।

हिन्दुहरुसँग सम्बन्धित संघसंस्थाहरुले भने यस विषयमा मुख खोलिसकेका छैनन्।

कोषका अनुसार २०८० भदौ ६ गते बुढासुब्वा डिजिटललाई पशुपति क्षेत्रको भिडियो एकलौटी रुपमा खिच्ने र सार्वजनिक गर्ने टेन्डर दिइएको थियो। सम्झौताअनुसार बुढासुब्वाले कपीराईटको अधिकार पाएकाले उसले कपिराइट लगाउने तयारी गरेको हो। यद्यपी उक्त तयारी कानुनसम्मत भने ठहरिँदैन।

तर बुढासुब्वा डिजिटलले भने आफूहरुले टेन्डर प्रक्रियाबाटै सन्ध्या आरतीको प्रत्यक्ष प्रसारणको अधिकार पाएकाले व्यक्तिगत प्रयोगका लागि खिचे पनि व्यवसायिक प्रयोगका लागि कसैले खिच्न नपाउने बताउन थालेको छ।

आफूहरुले प्रतिमहिना कोषलाई करबाहेक १ लाख ६० हजार रुपैयाँ तिर्ने सम्झौता भएकाले कसैले भिडियो खिचेमा प्रतिलिपि ऐन बमोजिम कारवाही हुने प्रालिको दावी छ। तर धार्मिक केन्द्र र आस्थाका धरोहरहरुमा उक्त ऐन लागू नहुने व्याख्या कानुविदहरुको छ।

पशुपति विश्वभरका हिन्दुहरुको आस्थाको धरोहर भएकाले यहाँ हुने आरती र दीप प्रज्वलन व्यावसायिक उद्देश्यका लागि नभएर धार्मिक आस्थासँग गासिएकाले कुनै प्रतिलिपि अधिकार ऐन आकार्षित नहुने कानुनका जानकारहरु बताउँछन्।

बरु जानकारहरु भन्छन्- ‘धार्मिक आस्था बोकेर आउनेहरुको गतिविधि कुनै निजी कम्पनीलाई बेच्नेकाम श्रद्धालुको गोपनीयतामाथिको हनन् हो, खेलवाड हो।’

आरती पशुपतिनाथ