Logo
८ पुस २०८१, सोमबार

भागबन्डा मिलाउन गण्डकीमा ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय

अक्षरपाटी
२०८० चैत्र २९ , बिहीबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ,२९ चैत । गण्डकी प्रदेशमा मन्त्रालय टुक्राएर बढाइने भएको छ। २ वटा मन्त्रालय बढाउन लागिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय बढाउने निर्णय गरेको प्रवक्ता तथा विनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए।

सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय टुक्राइनेछ। मुख्यमन्त्रीको मातहातमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई पनि टुक्राइएको हो।

मुख्यमन्त्री खगराज अधिकारीको पहिलो कार्यकालमा १२ मन्त्रालयबाट ७ मा घटाएका थिए। २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले मन्त्रालयको संख्या घटाएर प्रशंसासमेत बटुलेका थिए। यसपालि उनैले भागबण्डा पुर्‍याउने घटाएको मन्त्रालयको संख्या बढाएका हुन्।

यस्तै, गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त भएका छन्। उनले केही दिन अगाडि नेकपा एमाले लमजुङको अध्यक्षमा पराजय व्यहोरेका थिए।

गण्डकीमा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा (माओवादी केन्द्र) को सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ६० जना सांसद छन् ।