Logo
२८ भदौ २०८३, आईतबार

भोटेकोशी बाढीपछि शिक्षा क्षेत्रको पुनरुत्थानमा मात्रै २ अर्ब ३५ करोड लाग्ने

अक्षरपाटी
२०८३ भदौ २७ , शनिबार १०:०९ मा प्रकाशित

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षति पुगेको शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्।

जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपश्चात त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीको पठनपाठन अबरुद्ध भएको सरकारी तथ्यांकले देखाएको छ।

संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने सरकारको अनुमान छ।

सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। नेपालका निजी स्कूलका विभिन्न पाँच वटा संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।

बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सुरु गर्नका लागि उनीहरूको पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गरिरहेका छन्।

भोटेकोशी बाढी शिक्षाको पुनरुत्था

ट्रेन्डिङ ( साप्ताहिक )