Logo
८ साउन २०८१, मंगलबार

तमानखोलामा पहिलो कल्भर्ट उद्घाटन, अन्य घाटमा कहिले ?

labansirpali
२०८१ जेठ १६ , बुधबार ०८:०५ मा प्रकाशित

बागलुङ । तमानखोला गाउँपालीकामा १५ टन क्षमताको भिगोसघाट कल्भर्ट उद्घाटन भएको छ । ८७ लाख ६७ हजार ९२६ रुपैयाँ लागतमा सम्पन्न भएको कल्भर्ट मंगलबार गणतन्त्र दिवसको अवसर परेर उद्घाटन भएको हो ।
खुंखानी, नर्जा र थास्पुरीका स्थानीयलाई प्रत्यक्ष टेवा पुग्ने गरी बनेको कल्भर्टको उद्घाटन गाउँपालीकाका अध्यक्ष जोकलाल बुढाले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले तमानखोला गाउँपालिकाको पहिलो सपना पूरा भएको बताएका छन् । धेरै योजना र परिकल्पना पछि यो कल्भर्ट सपन्न भएकोमा उनले खुशी पनि व्यक्त गरे ।

उनले भने “यो तमानखोलाको पाइलट प्रोजेक्ट हो । कुनै पुर्वाधार निर्माणको कार्य गर्नु भन्दा पहिले सपना देख्नु पर्छ । तमानखोलाले देखेको पहिलो सपना तमानखोलाका विभिन्न घाटहरुमा मोटेरेबल पुल वा कल्भर्ट निर्माण गर्नु हो । त्यसको उदाहरण भिगोसघाट कल्भर्ट हो । गाउँपालिकाकै बजेटबाट हामीले बनाएको यो कल्भर्टमा धेरै जोखिम पनि उठाएका छौँ ।”

अध्यक्ष बुढाले ठेकेदारको भर पर्दा बोङ्गादोभानको पुल अलपत्र परेको औल्याउँदै, फेरि त्यस्तो झन्झट नहोस भनेर उपभोक्ता समिति गठन गरेर गाउँपालिकाकै बजेटमा काम सुरु गरेको बताए । अन्य घाटमा पनि बिकल्प सोचिरहेको अध्यक्ष बुढाले बताए ।

छोटो समयमा निर्माण सम्पन्न भएको कल्भर्ट तमानखोलाको गौरबको योजना र पहिलो काम भएकाले प्राबिधिक सर्वेक्षणमा केहि तलमाथि भएपनि त्यसलाई मिलाएर बुझिदिन सबै वडाका प्रतिनिधित्व गर्दै बोलेका छवि श्रीपालीले आम नागरिकलाई अनुरोध गरेका छन् ।
“यो हाम्रो गौरबको योजना हो । धेरैले प्राबिधिक इस्टिमेटमा तलमाथी भो भन्ने कुरा उठाउनु भाको छ । यो हाम्रो पहिलो योजना हो, अब पहिलो पटक बच्चा जन्माउदा नयाँ बुवाआमालाई बच्चा कसरी स्याहार गर्ने ? कसरी नुहाउन भन्ने दुबिधा हुन्छ । यो पनि हाम्रो लागि त्यस्तै योजना हो भनेर बुजिदिनुस् ।” वडा अध्यक्ष श्रीपालीले भने ।

गाउँपालिकाले कल्भर्ट निर्माणको लागि ७५ लाख बिनियोजन गरेकोमा निर्माण सम्पन्न हुँदासम्म खर्च ८७ लाख पुगेकोमा आलोचना पनि भएको छ ।