Logo
१० पुस २०८१, बुधबार

देशभर फैलियो मनसुन,पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

अक्षरपाटी
२०८१ असार ११ , मंगलबार ०९:०६ मा प्रकाशित

काठमाण्डौ,११ असार । मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली फैलिएपछि पानी नै पर्छ भन्ने चाहिँ नहुने मौसमविद्ले बताएका छन् ।

दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन लाग्यो । मनसुन हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन कमजोर नै हुँदा सक्रिय भएर पानी पर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएपछि बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा रातिदेखि चट्याङसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो पटक सबैभन्दा धेरै दाङको घोराहीमा ३० दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।