Logo
६ पुस २०८१, शनिबार

भारतमा धार्मिक कार्यक्रममा भागदौड हुँदा ११६ को मृत्यु

अक्षरपाटी
२०८१ असार १९ , बुधबार १०:०७ मा प्रकाशित


काठमाडौँ,१९ असार । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ । जसमा अधिकांश महिला छन् ।

हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

हाथरस, बहादुर नगरी गाउँका भोले बाबाको धार्मिक सत्संग सुन्न ठूलो संख्यामा मानिसको उपस्थिति थियो । स्थानीय प्रहरीका अनुसार उनको वास्तविक नाम नारायण साकार हरि हो र उनले करिब २७ वर्षअघि सरकारी जागिर छाडेर धार्मिक प्रचार सुरु गरेका थिए । उनले साकार विश्व हरि भोले बाबाको ब्यानरमा सत्संग कार्यक्रम गर्दै आएका छन् ।

कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ । बाबा र उनकी श्रीमतीले सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।