Logo
१० पुस २०८१, बुधबार

कैलालीमा बाढीले बगाउँदा एकजनाको मृत्यु, भजनीका ३ हजार घर डुबानमा

अक्षरपाटी
२०८१ असार २० , बिहीबार १०:०७ मा प्रकाशित

कैलाली,२० असार । कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यस्तै कैलालीकै कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्’, नगर प्रमुख चौधरीले भने, ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्‍यौँ ।’

लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा करिब दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए ।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।