Logo
१५ पुस २०८१, सोमबार

सौर्य एअरलाइन्सकाे विमान दुर्घटना : शव भोलि बेलुकासम्म आफन्तलाई बुझाइन्छ – स्वास्थ्यमन्त्री

अक्षरपाटी
२०८१ साउन १० , बिहीबार ०३:०७ मा प्रकाशित

काठमाडौं,१० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम भइरहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भइसकेको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपालकुमार चौधरीले जानकारी दिए ।

उनले आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने बताए । शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भएको बताए । उनले एउटा शव पोष्टमार्टमका लागि चारघण्टा समय लाग्नेसमेत बताए ।

डा. चौधरीले त्रिवि शिक्षण अस्पतालको मात्रै जनशक्तिले अपुग हुने भएकाले पाटन र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको बताए । हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।