काठमाडौं,४ भदौ । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया-प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको खेलमा समोआले इतिहास रचेको छ।
समोआका ड्यारियस भिसेरले पुरुष टी-२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोड्दा समोआले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाउन सफल भयो।
भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरूद्ध खेलको १५औं ओभरमा कुल ३९ रन जोड्न सफल भए। ओभरमा उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए। चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे। पाँचौ बल डट भएको थियो। तर छैटौं बल फेरि नो बल भयो। त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे। फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनाएको थियो। जसमा भिसेरले ६ छक्का प्रहार गर्दा ३ रन तीन वटा नो बलबाट प्राप्त भयो।
यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भयो।
सन् २००७ को पहिलो टी-२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए। वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलास पूरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी (२०२४), भारतका रोहित शर्माररिंकु सिंह (२०२४ संयुक्त) ले पनि एकै ओभरमा ३६ रन जोडेका थिए। नेपालका दीपेन्द्रले कतारका कामरान खानविरूद्ध एसिसी प्रिमियर लिगको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।
मंगलबार कीर्तिमानी ब्याटिङ गरेका भिसेरले खेलमा १३२ रन जोडे। उनले ६२ बलमा ५ चौका र १४ छक्का प्रहार गरे। उनको शतकको मद्दतमा ओसिनियन मुलुक समोआले १७४ रन जोड्यो।