धनगढी,५ भदौ । कैलाली जिल्लामा लगातारको वर्षले नदीहरूमा पानीको बहाव बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कटैनी, कान्द्रा, मोहना र यसका सहायक नदीहरूमा पानीको बहाव बढेको छ ।
यसैबिच कैलालीको गौरीगंगा नगरपालिका केही क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार गौरीगंगा नगरपालिका ७, ९ नं वडाको महादेवा, भगवानपुर, शंकरपुर गाउँका २२ घर डुबानमा परेका हुन् । महादेवाकै स्थानीय महादेव चौधरीको पोखरीमा बाढी पस्दा उनले पालन गरेको ४ हजार बढी माछा समेत बगेको स्थानीय विहारी चौधरीले बताए ।
जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि प्रशासनले उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।