Logo
२ कात्तिक २०८१, शुक्रबार

बालिकालाई यौन व्यवसायमा लगाउने गेष्टहाउस संचालक पक्राउ

अक्षरपाटी
२०८१ कात्तिक २ , शुक्रबार १२:१० मा प्रकाशित

काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई बिहीबार टोखा नगरपालिका-९ बाट पक्राउ गरेको प्रवक्ता एवं एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६का २९ वर्षीय सुजन तामाङ छन्।

उनले काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कमा निमा गेष्ट हाउस सञ्चालन गर्छन्। उनले एक जना बालिकालाई सरसफाइको काममा लगाइदिने भन्‍दै जबरजस्ती यौन व्यवसायमा लगाएको खुलेको हो।

ग्राहकसँग एक-दुई घण्टाको दुई देखि ३ हजारसम्म र रातभरको ६ हजारसम्‍म लिने गरेको खुलेको हो।

पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउस बाहिर समेत निस्किन नदिएर बिरामी भएको समयमा समेत जबरजस्ती शारिरिक सम्पर्क राख्न बाध्य गराएको एसपी मिश्रले बताए।

पारिश्रमिक माग गर्दा पनि अभियुक्तले गाली गलौज र कुटपिट समेत गरेको खुलेको छ।

बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने जाहेरीपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति समेत लिइसकेको छ।