Logo
७ पुस २०८१, आईतबार

पोखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, अवस्था तनावपूर्ण

अक्षरपाटी
२०८१ कात्तिक ४ , आईतबार ०१:१० मा प्रकाशित

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्र तोडेर रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल समेत भइरहेको छ ।

अहिले पनि रास्वपाका नेता–कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । पोखरामा रास्वपाको आन्दोलनबाट हुनसक्न सम्भावित जोखिम रोक्नका लागि सुरक्षा तैनाथी बढाइएको छ ।

त्यहाँ प्रदर्शन निषेधित क्षेत्र घोषणा गरिएको छ । राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । सहकारी पीडितहरूले पनि राष्ट्र बैंक चोकमा प्रदर्शनका लागि उपस्थित हुन भनेका छन् ।

यस्तै पार्टी सभापति पक्राउ परेपछि देशभर विरोध प्रदर्शनमा उत्रिएको रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने भएको छ । रास्वपाले अरू जिल्लाबाट पनि कार्यकर्ता पोखरा बेलाएको बताइएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ । शुक्रबार काठमाडौंमा पक्राउ गरी राति नै कास्की प्रहरीको हिरासतमा लगिएका लामिछानेलाई आज म्याद थप गर्न अदालतमा पेश गरिन लागेको हो ।

करिब एक सय मिटरको दूरीमा रहेका राष्ट्रबैंक र शहिदचोकमा रास्वपा कार्यकर्ता र सहकारी पीडित आमने–सामने हुनसक्ने जोखिम बढेको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने तयारी प्रहरीको छ । पोखराको सूर्यदर्शन सहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा तत्कालीन प्रवन्ध निर्देशक लामिछानेलाई पक्राउ गरिएको हो ।

रवि लामिछाने