काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो समूहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ।
जारी संस्करणमा समूह ‘बी’मा रहेको नेपाल सेमिफाइनल पुग्नका लागि आजको खेलमा निश्चित जितको लक्ष्यमा रहेको छ। दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरु हुनेछ।
श्रीलंकाविरुद्ध मैदानमा उत्रिँदा आज पहिलो पटक स्टार स्ट्राइकर सावित्र भण्डारी सुरुवाती ११ मा रहेर मैदान उत्रिँदैछिन्। किनकी नेपाल फराकिलो जितसहित समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ। जहाँ नेपालले भारतको सामना गर्ने पक्का हुनेछ।
जारी सिजन पहिलो खेलमा भुटानविरुद्ध अप्रत्यासित गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा समूहकै कमजोर माल्दिभ्स माथि एक पक्षीय रुपमा ११-० को जित निकाल्यो। गोल अन्तरमा भुटानभन्दा निकै अघि रहेको नेपालले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनल पक्का हुनेछ। तर समूह विजेताका लागि भने भुटानसँगको गोल अन्तरमाअघि हुनु पर्नेछ।
नेपाललाई हराएको खण्डमा श्रीलंकाको पनि सेमिफाइनलको संभावना रहने भएकाले श्रीलंका अप्रत्यासित नतिजाको प्रयासमा मैदान उत्रिने छ। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४-१ को पराजित भएको हो।
तर, साफ च्याम्पियनसिप सातौं संस्करणसम्म आइपुग्दा कुनै टिमले पनि ‘उलटफेर’ गर्न सकेका छैनन्। त्यसैले श्रीलंकाबाट त्यो अपेक्षा रहने छैन्। श्रीलंकाका प्रशिक्षक मोहम्मद हुसेन रुमीले अन्तिम समयसम्म लड्ने बताएपनि उनी नेपाललाई हराउनेमा विश्वस्त सुनिएका थिएनन्।
नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ भुटानविरुद्धको बराबरी पछि त्यति उत्साहित छैनन्। यद्यपि, उनी सेमिफाइनल पुग्नेमा निश्चिन्त छन्। उनले माल्दिभ्सविरुद्धको गोल वर्षालाई अस्वभाविक मानिँदैन्। यद्यपि, उनले अबको लक्ष्य श्रीलंकालाई हराउनुनै भएको बताए।
साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पाँच पटक खेलेको छ। जसमा नेपालले सबै खेल जितेको छ। यी खेलहरुमा कूल १७ गोल भएका छन्। सबै गोल नेपालको पक्षमा गएको छ। १६ गोल आफ्नो खेलाडीले गरेका हुन् भने एक गोल नेपालले आत्मघाती उपहार पाएको थियो।
अहिलेसम्म नेपालको पोस्टमा गोल गर्न असफल श्रीलंका त्यो इतिहास भने फेर्ने पक्षमा छ।
नेपालको खेलअघि महिला साफ च्याम्पियनसिपमा भुटान र माल्दिभ्स भिड्ने छन्। जहाँबाट सेमिफाइनल पुग्ने समूह ‘बी’को एउटा टिमको तय हुनेछ।