Logo
६ मंसीर २०८१, बिहीबार

गौशाला क्षेत्रमा महानगरले चलायो डोजर

अक्षरपाटी
२०८१ कात्तिक ३० , शुक्रबार ०२:११ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ । आज (शुक्रबार) महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार–पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको उनले जानकारी दिएका छन् । अहिले अतिक्रमित चार–पाँच वटा घरहरूमा डोजर चलाएको जानकारी दिंदै उनले भने, ‘अझै अन्य घरहरूमा पनि चलाइने छ ।’ जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो ।

तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ । सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।