Logo
१० पुस २०८१, बुधबार

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

अक्षरपाटी
२०८१ पुस ९ , मंगलबार ०१:१२ मा प्रकाशित

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ।

तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुरकुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन,स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसम भोलिसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताइएको छ।