काठमाडौं । आजबाट एकसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन् । मङ्सिर र पुसमा निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ ।
आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरु भएको छ । बाल मनोविज्ञान र मित्रताको कथा देखाइएको चलचित्र ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् ।
विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा समेत कार्य गरिरहेका निर्देशक तामाङले बालबालिकाको कथालाई ठूलो पर्दामा ल्याउँदा त्यसले सकारात्मक प्रभाव छाड्ने बताए । ‘चलचित्रमा एउटा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई चलचित्रमा समेटेका छौँ’, निर्देशक तामाङले भने ।
यस चलचित्रमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, सुरज तमु, समीरमणि दीक्षितलगायत कलाकारले अभिनय गरेका छन् ।
आजदेखि नै प्रदर्शन सुरु भएको चलचित्र ‘मम्मी’ निरन्तरभन्दा फरक ‘हरर साइकोलोजिकल–थ्रिलर’ विधामा तयार गरिएको निर्देशक समर निरौलाले जानकारी दिए ।
‘नियमित बनिरहेका चलचित्रभन्दा फरक प्रयास गरेका छौँ । मैले केही चलचित्र र टेली शृङ्खलामा काम गर्दा नै सोचेको विषयलाई चलचित्रमा समेटेको छु । यो विषय नेपाली चलचित्र हेर्ने दर्शकका लागि नयाँ हुनेछ’, उनले भने ।
चलचित्रमा प्रियङ्का कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रदर्शन भइरहेको तेस्रो चलचित्र ‘जुनाः एक व्यथा’ को निर्माण बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्देशक जीवन सेञ्चुरीले बताए ।
‘चलचित्रको विषय हाम्रो गाउँ समाजमा देखिएकै घटनाक्रम हो । हामीले देखाएको कथा हेरेर थोरै भए पनि सुसूचित हुनुभयो भने हामी सफल हुनेछौँ । उमेर नपुग्दै विवाह भएकी चेलीले भोग्ने कथा नै चलचित्रको विषय हो,’ उनले भने ।