




महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छठ पर्वको अवसरमा महोत्तरीका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमा पुगेर पूजाअर्चना तथा दर्शन गरेका छन्।
छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी हुन महोत्तरी पुगेका लामिछानेले सबैभन्दा पहिले ऐतिहासिक धार्मिक नगरी मटिहानीस्थित मन्दिरमा दर्शन गरेका हुन्। त्यसक्रममा उनलाई स्थानीय तथा रास्वपाका नेता–कार्यकर्ताले स्वागत गरेका थिए।
लामिछाने मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिरमा पुग्दा रास्वपा मटिहानी नगर सभापति विपेश कुमार चौधरीले २५ किलोको माला लगाएर स्वागत गरेका थिए।
स्थानीय नेता–कार्यकर्तासहितको उपस्थितिमा उनलाई स्वागत गरिएको हो।
मटिहानीमा धार्मिक स्थलको दर्शन तथा खरना पूजामा सहभागिता जनाएपछि लामिछाने महोत्तरीकै प्रसिद्ध जलेश्वर मन्दिरमा समेत पुगेका थिए। उनले जलेश्वर मन्दिरमा पूजाअर्चना गरेका हुन्।
छठ पर्वको अवसरमा महोत्तरी पुगेका लामिछानेले जिल्लाका धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलको भ्रमण गरेका हुन्।
उनको भ्रमणका क्रममा स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
महोत्तरीमा छठ पर्व विशेष उत्साह र श्रद्धाका साथ मनाइँदैछ। जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशयलाई सजाएर श्रद्धालुहरू सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाउने तयारीमा छन्।
छठको मुख्य विधिअन्तर्गत व्रतालुहरूले खरना पूजा सम्पन्न गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
लामिछानेको धार्मिक स्थल भ्रमणलाई छठ पर्वको सांस्कृतिक तथा धार्मिक महत्वसँग जोडेर हेरिएको छ। मटिहानी र जलेश्वर महोत्तरीका महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छन्।


